kumari
stcnepal

भ्रष्टाचारको मूल स्रोत नै राजनिति

काठमाडौँ – नेकपा एमालेका सांसद रघुजी पन्तले ठूला–ठूला ठेक्कापट्टामा निजी क्षेत्रको सहभागिताबिना भ्रष्टाचार सम्भव नहुने बताएका छन्।

बिहीबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्ने तर भ्रष्टाचारमा सामेल भएको खण्डमा निजी क्षेत्र भनेर छोड्नु नहुने बताए। उनले निजी क्षेत्रलाई लगानीको लागि निरुत्साहित गर्नु नहुने पनि बताए। उनले नीतिगत भ्रष्टाचार हुन्छ भने नीतिगत भ्रष्टाचारलाई रोक्न के गर्ने? नीतिगत भ्रष्टाचार छानबिन गर्ने अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिने वा नदिने भन्नेबारेमा पनि छलफल जरुरी रहेको बताए।

समितिको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले भ्रष्टाचारविरुद्ध नागरिक सशक्तिकरण र सामाजिक जागरणमार्फत नियमनको व्यवस्था गर्नुपर्ने बताए। उनले पाठ्यक्रमहरुमा नै शुरुका दिनदेखि नै भ्रष्टाचार सामाजिक अपराध हो भन्ने कुरामा जोड दिएर स्थापित गर्न जरुरी रहेको उल्लेख गरे।

समितिको बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले भ्रष्टाचारको मूल श्रोत नै राजनीति भएको बताइन्। उनले राजनीतिक दलबाट नै भ्रष्टाचारमा बढी मुछिने गरेको बताइन्।

 

footer