राप्रपा नेपालको बंगलादेशमा हिन्दूहरू माथि भैरहेको आक्रमण अन्त्य गर्न माग
वि.सं.२०८१ साउन २६ शनिवार १५:०५
shares

काठमाडौँ । राप्रपा नेपालले बंगलादेशमा धार्मिक आस्थाका आधारमा हिंसा भएको भन्दै त्यसको विरोध गरेको छ । शनिबार राप्रपा नेपालका अध्यक्ष कमल थापाले एक विज्ञप्ति जारी गरी सो हिंसात्मक गतिविधिको विरोध गरेका हुन् ।
विज्ञप्तिमा उनले भनेका छन् : ‘आन्दोलनको बलमा सत्ता परिवर्तन भैसकेपछि पनि हिन्दूहरू माथि अमानवीय र निर्मम आक्रमण हुनु तथा मन्दिरहरुमा तोडफोड गरिनु मानव अधिकारको ठाडो उल्लंघन हो। धार्मिक आस्थाको आधारमा भएका हिंसाको राप्रपा नेपाल घोर भत्सर्ना र विरोध गर्दछ।’ अध्यक्ष थापाले हिंसात्मक प्रदर्शनको क्रममा हिन्दुहरूमाथि संगठित आक्रमण भैरहेको समाचारले विश्वभरका सनातन धर्मावलम्बीहरूलाई स्तब्ध बनाएको समेत बताएका छन् । उनले बंगलादेशका जनताले बिभिन्न मागहरु राखेर गरेको आन्दोलनका बारेमा आफूहरुको भन्नु केही नभएको र त्यो उनीहरुको अधिकार भएको समेत बताएका छन् । तर, धार्मिक आस्थाको आधरमा गरिने हिंसाप्रति सचेत विश्व समुदाय मौन रहन नसक्ने उनले बताएका छन् ।
विज्ञप्तिमार्फत अध्यक्ष थापाले हिन्दूहरूमाथि भैरहेको आक्रमण अन्त्य गर्न र पीडितहरुको उद्धार र सहयोगका निम्ति बंगलादेश सरकार र संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गराउन सरकारसँग माग समेत गरेका छन् ।




































