कांग्रेसले पनि माग्यो उपसभामुख रानाको राजिनामा
वि.सं.२०८१ भदौ २६ बुधवार १४:०७
shares

काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरको राजीनामा मागेको छ ।
बुधबार बिहान बसेको कांग्रेसका शीर्ष नेताहरुको बैठकले उपसभामुख इन्दिरा रानामगरले मुलुकको शीर झुकाउने कार्य गरेको निष्कर्ष निकाल्दै राजीनामा मागेको हो । कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले बैठकपछि भने, ‘हाम्रो चाहना के हो भने सबै प्रक्रियामा जानुभन्दा उहाँले बहिर्गमनको बाटो रोज्नु राम्रो हुन्छ ।’उपसभामुख रानामगरले राष्ट्रसंघको ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्रमा सहभागी हुन पाँच जनाको अन्तर्वार्ता अगाडि सारिदिन नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् । चार पुरुष र एक महिलाका लागि उपसभामुखले पत्र लेखे पनि अमेरिका जान भने पाएका थिएनन् ।
२०२३ को फेब्रुअरीमा लेखेको त्यही पत्र केही समय अघि सार्वजनिक भएको थियो । पत्र सार्वजनिक भए लगत्तै उपसभामुख गम्भिर विवादमा परेकी छिन् ।बुधबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको संयुक्त बैठकपछि प्रमुख सचेतक घिमिरेले उपसभामुख रानामगरमाथि उठेको विषय सामान्य नभएको बताए । ‘यो चानचुन विषय होइन । उपसभामुखले गर्नै नहुने काम गर्नुभएको छ,’ घिमिरेले भने, ‘उहाँले सिफारिस गर्नै मिल्दैन, परराष्ट्र मार्फत भएर जानुपर्ने कुरा आफैंले लेख्नुभएको छ । संसदलाई नै अपमानित गरेको छ भन्ने हाम्रो बुझाइ छ ।’ उनलाई पदबाट हटाउने गरी सत्ता गठबन्धनले तयारी गरेको छ । कांग्रेसको शीर्ष तहको बैठकले उपसभामुखलाई हटाउनका लागि थप छलफल सत्ता गठबन्धनमा गर्ने निर्णय लिएको छ ।
सोही विषयमा छलफल गर्न कांग्रेसको संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेको प्रमुख सचेतक घिमिरेले जानकारी दिए । ‘अरु कुराहरु त्यही छलफल हुन्छ । आज संसदीय दलको बैठक बोलाउने निर्णय भएको छ,’ घिमिरेले भने । संसदीय दलको बैठक मिति भने तय भइ नसकेको घिमिरेले जानकारी दिए ।सोमबार साँझ प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुको बैठकमा पनि उपसभामुख रानामगरको विषयले प्रवेश पाएको थियो ।मंगलबार बसेको संसद बैठकमा प्रतिपक्ष र सत्ता पक्ष दलका सांसदहरु उपसभामुखको पक्ष–विपक्षमा उभिएका थिए ।


































