यो कस्तो राजनीति जहाँ अपराधमात्र
वि.सं.२०८१ असोज ३ बिहीवार १०:११
shares

राजन कार्की
हजार जिब्रा भएका शेषनागजस्ता छन् नेता । बिगत ३४ वर्षदेखि यी शेषनागहरु जनतासँग एउटा वाचा गर्छन्, घोषणापत्रमा अर्को बाचा गर्छन्, सत्ता र शक्तिमा पुगेपछि विदेशीको पाउमा लम्पष्सार पर्छन् र विदेशीले लाएअह्राएको काम गर्छन् ।
देशमा नीति छैन, नेता छैनन्, राजनीतिका ठाउँमा अपराधमात्र छ ।
बोली एउटा, व्यवहार अर्को, शैली र परिणाम अलग्गै । ३४ वर्षअघि जो नेता थिए, आज पनि तिनै नेता छन् । पहिलोपुस्ता नेतृत्वमै छ, दोस्रोपुस्ता बुढो भइसक्यो, तेस्रो पुस्ता कोही पनि देशमा बस्न चाहदैनन् । जता हरे पनि अपराधमात्र देखिन्छ, अनि कसरी देशको विकास हुन्छ ।
संविधान छ, संसद छ, सरकार छ, संवैधानिक निकाय छन्, बिधि छैन । नीति पद्धति केही पनि छैन । जता पनि अपराधिकरण । जहाँ बिधि र न्याय हुँदैन, त्यो देश असफल देश हो । नेपाल असफल भइसक्यो ।
३४ वर्षअघि जो सत्ता, शक्ति र सरकारमा थिए, आज पनि तिनै छन् । के गरे तिनले भनेर हेर्दा अन्धकार । केही पनि देखिदैन । नेशनल युनिटी पार्टी, हाइटीको ‘बेबी डक’ जीन क्लाउड दुभालियर हाइटीलार्य १९८६ मा नाङ्गो, असफल राष्ट्र बनाएका थिए, हाम्रा नेताहरुले बहुदल, लोकतन्त्रको ३४ वर्षमा देशलाई नाङ्गेझार पारेका छन् ।
जो तराई, पहाड, हिमालका गरीव छन् तिनलाई थाहा पनि छैन कि तिनको थाप्लोमा ८१ हजारको कर्जा छ । २४ खर्ब ऋण भएको मुलुक, जसको १६ खर्ब बजेट छ, १२ खर्ब राजस्व उठ्छ, र प्रशासन र विकास बजेटको ८० प्रतिशत भ्रष्टाचार हुन्छ, त्यो देश हाइटीजस्तो नभएर के हुन्छ ?
विश्वले हेरिरहेको छ, नेपाल दण्डहीन मुलुक हो । ज्यानमारा सांसद छन्, ज्यानमारा सभामुख भए, ज्यानमाराले देश चलाए, अझै भन्छन्, लोकतन्त्र छ । आश्चर्य लाग्छ, लोकलाज पचाएपछि सबैकुरा पाच्य हुनेरहेछ ।
दुभालिएरले देशमा फर्कन बाध्य भए, विदेशमा बाससमेत पाएनन् र जेलमै मर्नुप¥यो । श्रीलंकाको राजापाक्ष परिवार, अफगानिस्तानका पूर्वशासक अथवा बंगलादेशकी शेख हसिनाको हालत देश छाडेर भाग्नुप¥यो । जनता उठेपछि कसको केही नलाग्ने रहेछ । नेपाल त्यही मोडमा पुगेको छ ।
ती मुलुक जसरी असफल हुनपुग्यो, जे जस्ता कमजोरीहरू थिए, ती सबै कमजोरी नेपालमा बिद्यमान छन् । दुभालिएर र नेपालका पार्टी नेता तथा ठूला प्रशासकहरूको अनुहार मिल्दोजुल्दो छ । नेपाल असफल हुने कि असफलताको भीरबाट सुरक्षित उद्धार हुने, यो यक्ष प्रश्न हो नेपालीका सामु ।
देशले राणा शासनभन्दा हिंस्रक वर्तमान शासन व्यवस्था फाल्न खोजेको छ । यसका लागि १९९७ सालमा सहिद भएका थिए शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठजस्ता वीर सपुतको खाँचो छ । १० लाखे नक्कली सहिदको होइन, अस्तित्व रक्षाका लागि उठ्ने, त्याग बलिदान गर्न सक्ने सहित नेपाल आमाले मागिरहेकी छिन् ।
जो लडे, सुगौली सन्धि अघि लडे । १८१६ को सुगौली सन्धिपछि को लड्यो राष्ट्रका लागि ? गोतम गोविन्दजस्ता केही युवा निस्केका थिए, तिनलाई मारियो । शासक विदेशीका पाउमा लम्पसार पर्छन्, अस्तित्वको लागि बोल्दैनन् ।
असली सिपाही जो देशका लागि लड्छ, त्यसको खाँछो भयो । यी शासक प्रशासकहरुले हस् साब भन्दा भन्दै २३ जिल्लाका ६६ ठाउँमा सीम अतिक्रमण गरेर भारत बिस्तार भयो । ५ वर्षअघि कालापानी, लिपुलेक, लिम्पियाधुरा भारतको नक्सामा मिसाइयो, नेपाली बोलेनन् । हो, नक्सासम्म जारी गरे, नक्सा नेपालसित, भूगोल भारतसित । भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउने विषय संसदको मुद्दा नै बनेन । सरकार बोल्दै बोल्दैन ।
संविधान लेखियो, संविधान लेख्ने ६०१ सांसद थिए, तिनले चुच्चेनक्सा भारततिर पारिदिए । तिनीहरू राष्ट्रघाती थिए, तिनीहरूमाथि कुनै कारवाही भएन । अतिक्रमण गर्न छुट दिएपछि, अतिक्रमण गर्न दिनुहुन्न भन्ने नागरिकलाई मार्न थालेपछि, मारेकोमा नेतृत्व मौन बसेपछि भारतले हेप्छ । भारतले भित्तैमा पुग्नेगरी नेपाललाई हेपिरहेको छ ।
अतिक्रमित भूमि नेपालको हो भनेर फिर्ता ल्याउन सकेन । सक्नलाई प्रयत्न हुनुप¥यो, नेपालले प्रयत्न नै गरेन । नेपाली एक छन् तर सत्ता र शक्तिमा भएका जो कोही पनि नेपालको पक्षमा बोल्दा भारत बिरोधी भन्छन् भनेर बोल्दैनन् । देशको स्वाभिमान, स्वाधीनताका बारेमा नबोल्ने व्यक्ति कसरी नेपालको नेता हुन्छ ? नेपालको नेतृत्व विदेशीका रिमोटबाट चल्ने पुतला बने ।
प्रधानमन्त्री भारत गए, नेपालको अतिक्रमित भूमिको कुरै झिकेनन् । परराष्ट्रमन्त्री भारत गए, बोल्नै सकेनन् । भारतका परराष्ट्रमन्त्री, सचिव नेपाल आए, चाकरी गरेर पठाए । नेपाल भारत दुबै मिलेर प्रवुद्ध समूह गठन गरे, त्यो रिपोर्ट न नेपाल सरकारले बुझ्यो, न भारतले । भारतको आरोप छ, त्यो गोप्य रिपोर्ट कतिपय नेपालीको पहुँचमा पुग्यो, एक सदस्यले चीनलाई समेत बेचिदिएका थिए । यस्तो शंकास्पद रिपोर्ट भारतले कसरी बुझ्छ ? नेपालले कूटनीतिक प्रयास गर्नुपर्ने हो, गर्नैसकेन । नेपाल आफ्नै राजनीतिक रण्डखालमा रमिरहेको छ । त्यसमाथि विश्व शक्तिहरू नेपाललाई खेल मैदान बनाइरहेका छन् । नेपाल भूराजनीतिको भूमरीमा फनफनी घुमिरहेको छ ।
नेपालको राजनीतिक र कूटनीतिक सामथ्र्य खस्कदै गएको छ ।
नेपालका परराष्ट्रमन्त्री मार्फत प्रम ओलीले भारतका प्रम मोदीलाई नेपाल भ्रमणको निम्तो पठाएका थिए । भारतले बुझ्यो तर कूटनीतिक मर्यादा नाघ्दै भारतले नेपालका प्रम ओलीलाई भारत भ्रमणको निम्तो दिएनन् । यसबाट थाहा हुन्छ, भारते नेपाललाई हेप्यो, नेपालको कूटनीतिक हाइट खुम्च्यो ।
अब राष्ट्रसंघको बैठकमा सहभागी हुन प्रधानमन्त्री अमेरिका जादैछन् । हुनसक्छ, भारतका प्रधानमन्त्रीले भेटै नदिउन् । वास्तै नगरून् । यद्यपि ल्याकत भए भारतका प्रधानमन्त्रीसँग भेट हुनसक्छ, नेपाल भारतवीचका समस्यामा कुरा हुनसक्छ, सार्क र अन्य मुद्दाहरूमा वार्तालाप भएर थप निकास खुल्न सक्छन् । राजनेता हुन ढाडमा हाड चाहिन्छ, क्षमता चाहिन्छ । राजनीति र कूटनीतिमा दक्षता चाहिन्छ । त्यस्तो दक्षताको परीक्षा पनि हो, प्रम ओलीको अमेरिका भ्रमण ।
०४६ सालपछिका कुनै नेताहरू बाघ होइन रहेछन् । यी त बाघको अनुहारका बिराला रहेछन् । बिरालोले आखिरमा गर्ने म्याउ नै हो ।
हाम्रा नेतृत्वले गरेको भनेको चुनाव जित्ने संसदमा गएर लुट्ने, आफन्तलाई मनोनित गरिदिने, श्रीमती, छोरी, ज्वाई पोस्ने, सांसद बनाउने र बाँकी कार्यकर्ताले देश लुट्ने ? यो स्याल बुद्धले संसद, सरकार प्रभावकारी हुने कुरै भएन, केही गर्नै सकेन ।
इतिहासमा लिपिबद्ध छ– मातृकाप्रसाद कोइरालाका अनुसार नेपालको अनुमति नै नलिई दुईपल्ट भारतीय सेना नेपालमा पस्यो । भीमदत्तको हत्या भारतीय सेनाले गरेको हो । तिनै मातृकाले केही गर्न सकेनन् । भीमदत्तलाई मारेपछि भारतले कसैलाई नेपाली राष्ट्रवादको प्रतीक भएर उठ्नै दिएन । राजनीति र कूटनीतिमा पनि भारतको उही बृटिशकालीन फुटाउ र राज गर नीति लागू गरिरहेको छ ।
स्वाभिमान भएको चारजना नेता पाउन गाह्रो भयो । नेता स्वाभिमानी नभएपछि राष्ट्र पराधीन हुनेरहेछ । बिस्तारवाद र साम्राज्यवाद सबैभन्दा बढी बिरोध हुने देश विश्वमै नेपाल होला । तिनै शक्तिको पोखरीमा बिहानीको मुख धुने र रातिको मुख चुठ्ने नेता भएको देश पनि नेपाल नै पहिलो हो । १८ वर्षमा प्रष्ट भयो– जनक्रान्ति, जनआन्दोलन यी सबै परिवर्तनहरू भारतकै उचाल्ने र पछार्ने रणनीति अन्तर्गतका परिघटना रहेछन् । नेपालमा भुँडीबादमात्र छ । राजनीतिमा अरु कुनै बाद बाँकी छैन ।
भारतका नेता बिजय जोलीले भनेका थिए– नेपालका नेताहरू नै गुहार माँग्छन् त हामीले के गर्ने ? यसकारण नेपाली माटो संकटमा छ । माटो बाँचे, नेपाली जाति बाँच्ने हो । नेपाली माटोले स्वाधीन नेता मागिरहेको छ । कोही त उठ । देशको अस्तित्व बचाउन उठ ।


































