२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पार्टी अध्यक्ष लिङदेनकै अध्यक्षतामा आन्दोलन गर्ने राप्रपाको निर्णय

949
shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था पुनर्स्थापनालगायत एजेन्डामा पार्टीले गर्ने आन्दोलनको नेतृत्व आफैले गर्ने भएका छन्।

धुम्बाराहीमा मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले आन्दोलनको नेतृत्व अध्यक्ष लिङ्देन प्रमुख रहेको आन्दोलन परिचालन मूल समितिले नै लिने निर्णय गरेको हो।अहिलेसम्म महामन्त्री धवल शम्शेर राणा प्रमुख रहेको आन्दोलन परिचालन समितिले पार्टीका आन्दोलनका कार्यक्रम तय गर्ने गरेको थियो।

तर वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री राणाले पार्टी र अध्यक्ष लिङ्देनसँग छलफलबिनै नवराज सुवेदी नेतृत्वमा सोमबार ‘संयुक्त जनआन्दोलन समिति’ गठन गर्दै अध्यक्ष लिङ्देनलाई सदस्य राखेका थिए। अध्यक्ष लिङ्देनले त्यो समितिमा आफू नबस्ने बताएका थिए। सुवेदी नेतृत्वको समितिमा वरिष्ठ उपाध्यक्ष मिश्र सदस्य सचिव छन्।

‘अध्यक्ष लिङ्देनको नेतृत्वमा आन्दोलन परिचालन मूल समिति छ, त्यो समिति यसअघिसम्म सेरेमोनियल जस्तो थियो, पार्टीमा महामन्त्री धवल शम्शेर नेतृत्वको आन्दोलन परिचालन समितिले सबै गतिविधि गरिरहेको थियो। तर हिजो (सोमबार) सुवेदी नेतृत्वको समितिको निर्देशक समितिअन्तर्गत गठन हुने आन्दोलन परिचालन समितिमा धवल शम्शेर बसेपछि राप्रपाले गर्ने आन्दोलनको कमाण्डचाहिँ अध्यक्ष लिङ्देनले नै लिनुपरेको हो,’ एक पदाधिकारीले  भने।

अध्यक्ष लिङ्देनले अबदेखि आन्दोलनका कार्यक्रम र गतिविधि आफ्नै नेतृत्वमा रहेको आन्दोलन परिचालन मूल समितिले नै गर्ने बताएका छन्। त्यसका लागि चैत १२ गते थप आन्दोलनका कार्यक्रम घोषणा गरिने अध्यक्ष लिङ्देनले जानकारी दिए।अध्यक्ष लिङ्देनले नेतृत्व गर्ने आन्दोलन परिचालन मूल समितिमा पार्टीका सबै पदाधिकारी सदस्य रहन्छन्। ‘केन्द्रीय कार्यसम्पादनको मंगलबारको बैठकले आन्दोलन परिचालन समितिका संयोजक महामन्त्री धवल शम्शेर राणाको भूमिकालाई संकुचित गरिदिएको हो,’ राप्रपाका ती पदाधिकारीले भने, ‘पार्टीका निर्णयबेगर र अध्यक्षलाई नै जानकारी नदिई सुवेदी नेतृत्वको समिति गठनमा भूमिका खेल्ने र बस्ने गरेपछि महामन्त्री राणाको भूमिका संकुचित तुल्याउनुपरेको हो। अब सबै आन्दोलनको कमाण्ड अध्यक्ष आफैले गर्ने हो।’

कार्यसम्पादन समितिको बैठकमा अधिकांश सदस्यहरूले पार्टीमा छलफलबिना नै सुवेदी नेतृत्वमा समिति गठन गर्न पुगेको भन्दै वरिष्ठ उपाध्यक्ष मिश्र र महामन्त्री राणाको आलोचना गरेको ती पदाधिकारीले दाबी गरे।‘हिजो नवराज सुवेदी नेतृत्वको समितिमा बसेकाहरू (रवीन्द्र मिश्र र धवल शम्शेर राणा) सबै रक्षात्मक भए,’ ती पदाधिकारीले भने, ‘वरिष्ठ उपाध्यक्ष मिश्रले केही प्रक्रियागत त्रुटिहरू भयो भन्दै आत्मआलोचना गर्नुभयो। निर्देशक समिति अध्यक्ष प्रकाशचन्द्र लोहनीले धेरै त्रुटि भयो, विश्वासको वातावरण बन्न सकेन, अब सर्तसहितका आचारसंहिता बनाएर मात्रै अघि बढ्न सकिन्छ भन्ने कुरा राख्नुभयो।’वरिष्ठ उपाध्यक्ष मिश्र सदस्य सचिव र महामन्त्री राणासमेत रहेको नवराज सुवेदी नेतृत्वको समितिका गतिविधिमा मिश्र र राणा अब सक्रिय हुने वा नहुनेबारे प्रष्ट भइसकेको छैन।

‘उनीहरू बैठकमा जालान्, गतिविधिमा भाग पनि लेलान्, तर सुवेदी नेतृत्वको समितिलाई राप्रपाले अपनत्व लिँदैन, अध्यक्ष लिङ्देन नेतृत्वमै उपत्यकाकेन्द्रित आन्दोलन अघि बढाउँछ,’ ती पदाधिकारीले भने।महामन्त्री धवल शम्शेर राणाले सबै मिलेर आन्दोलनका कार्यक्रम अघि बढाइने प्रतिक्रिया दिए।अध्यक्ष लिङ्देनले नै आन्दोलनका कार्यक्रम तय गर्ने गरी कमाण्ड लिएपछि तपाईंको भूमिका के हुन्छ भन्नेबारे सोधिएको प्रश्नमा जबाफ दिँदै राणाले  भने, ‘सबै मिलेर आन्दोलन गर्ने हो।’नवराज सुवेदी नेतृत्वको समितिले गर्ने गतिविधिमा संलग्न रहन्छ कि रहन्न भन्नेबारे सोधिएको प्रश्नमा राणाले यसबारे छलफल गर्न बाँकी रहेको प्रतिक्रिया दिए।

राप्रपाले पनि आन्दोलन गर्ने र सुवेदी नेतृत्वको समितिले पनि आन्दोलन गर्दा के गर्ने भन्नेबारे निर्णय गर्नै बाँकी रहेको उनले बताए। ‘यसबारे छलफल भएर निर्णय भएपछि मात्रै भन्न सक्छु तर अहिले सबैजना मिलेर एकले अर्कोलाई सहयोग गर्ने हो,’ उनले भने।अध्यक्ष लिङ्देनले भने राप्रपाले पूर्वनिर्धारित आन्दोलनलाई निरन्तरता दिने बताएका छन्।‘चैत १२ गते आन्दोलन परिचालन मूल समिति बैठक गरेर थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्छौं,’ कार्यसम्पादन समिति बैठकपछि पत्रकारहरूसँग लिङ्देनले भने, ‘पार्टीका सबै गतिविधि अब आन्दोलनकेन्द्रित गरेर जान्छौं। अबको आन्दोलन काठमाडौं उपत्यकाकेन्द्रित रहनेछ।’उनले आन्दोलनमा साथ दिन समान विचार राख्ने राजनीतिक दलहरू, समूह वा व्यक्तिहरूलाई पनि आह्वान गरेका छन्।

उनले नवराज सुवेदी नेतृत्वको समितिमा आफूलाई जानकारीबिनै नाम राखिएकोले आपत्ति जनाएको र उक्त समितिमा नबस्ने बताएको उल्लेख गरे। तर राजसंस्थाका पक्षमा हुने यस्ता गतिविधिले आफूहरूलाई खुसी नै बनाउने उनको भनाइ थियो।पार्टीको आन्दोलन परिचालन मूल समिति संयोजक आफू रहेको र अब निर्णायक बाटोतर्फ लैजाने गरी आन्दोलन गरिने अध्यक्ष लिङ्देनको भनाइ छ। पूर्वराजा ज्ञानेन्द्र शाहको प्रस्तावअनुसार नवराज सुवेदीलाई संयोजक बनाइएको र उक्त समितिमा नबस्ने भनेर अभिव्यक्ति दिएकोबारे सोधिएको प्रश्नमा अध्यक्ष लिङ्देनले भने, ‘नवराज सुवेदीलाई राजाले अघि सारेको चिठीपत्र, अडिओ, भिडिओ केही छ र?’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports