जनमत पार्टी तथा नागरिक उन्मुक्ति पार्टीले पार्टी एकीकरणको लागी गठन गरेको कार्यदलको पहिलो बैठक बस्यो
वि.सं.२०८१ चैत ११ सोमवार १२:४५
shares

काठमाडौं । जनमत पार्टी तथा नागरिक उन्मुक्ति पार्टीले पार्टी एकीकरणको लागी गठन गरेको कार्यदलको पहिलो बैठक बसेको छ ।
आइतबार साँझ बसेको बैठकमा दुवैतर्फबाट प्रस्तावित विषयमा सामान्य छलफल भएको जनमतका प्रवक्ता एवं कार्यदल सदस्य डा.शरदखसिंह यादवले जानकारी गराए ।पार्टी अध्यक्ष, संरक्षक, सह अध्यक्ष, चुनाव चिह्न, छाप लगायतमा मोटामोटी सहमतिउन्मुख भएको यादवले जानकारी दिए । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत एकीकरण पछि बन्ने नागरिक जनमत पार्टीमा सोही पदमा रहने गरी छलफल भएको छ ।
संरक्षकमा नाउपाका संरक्षक रेशम चौधरी रहने छन् । सहअध्यक्षमा भने नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ रहनेछिन् । प्रस्तावित नाम नागरिक जनमत पार्टी हुने र चुनाव चिह्न नाउपाको ढकियालाई राखिने भएको छ ।‘केही कुरा टुंगिए जस्तो नै छ । विधानमण्डल नाउपाले गठन गरिसकेको छ । हामीले प्रस्तावित विधान धेरै पानाको छ । उहाँहरुको अलि कम छ । दुवैतर्फको हेरेर त्यसलाई कसरी मर्ज गर्ने बारेमा छलफल अघि बढेको छ,’ जनमत प्रवक्ता यादवले भने ।
यादवका अनुसार एक साताभित्रै धेरै कुरा टुंगिने गरी छलफल प्रारम्भ भएको छ । दुई दलको एकीकरणका लागि जनमत पार्टी तर्फबाट अब्दुल खान, डा. शरद सिंह यादव र बाल गोविन्द चौधरी रहेको कार्यदल बनाएको छ । नागरिक उन्मुक्ति पार्टी तर्फबाट गंगाराम चौधरी, सुनिता चौधरी र रामलाल डगौरा थारु रहेको कार्यदल बनेको छ ।






































