सरकारले काठमाडौंमा कोरोनाविरूद्ध बुष्टर मात्रा खोप दिन सुरू
वि.सं.२०७८ माघ ३ सोमवार १०:५६
shares

काठमाडौँ । सरकारले काठमाडौंमा कोरोनाविरूद्ध बुष्टर मात्रा खोप दिन सुरू गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार काठमाडौंका विभिन्न १७ स्थानबाट सोमबारदेखि कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा दिने भएको हो। तत्कालका लागि अग्रपंक्तिमा काम गर्नेहरूका लागि बुस्टर मात्रा उपलब्ध हुने महाशाखाले जनाएको छ। गत पुस २८ को मन्त्रिस्तरीय निर्णयबाट माघ २ देखि बुष्टर मात्रा खोप दिने गरी पत्राचार भएको थियो।
काठमाडौंमा आइतबारदेखि नै बुस्टर मात्रा लगाउने भनिए पनि केही तयारी नपुगेपछि सोमबारदेखि खोप लगाइने भएको हो। अहिले खोप सञ्चालन भइरहेका काठमाडौं जिल्लाभित्रका १७ खोप केन्द्रबाट बुस्टर मात्रा लगाउन सकिने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्लेले जानकारी दिए।
बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा हुनुपर्नेछ। माघ दोस्रो सातादेखि भने ६० वर्ष र त्यसभन्दा माथिका व्यक्तिहरूलाई बुष्टर मात्रा खोप माघ १४ देखि लगाइने प्रमुख शम्भु काफ्लेले जानकारी दिए।































