एमाले निकट युवा संघको अध्यक्षमा पुन : थेबे निर्वाचित
वि.सं.२०८२ जेठ १४ बुधवार ०७:१९
shares

काठमाडौं- एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे दोस्रोपल्टका लागि निर्वाचित भएका छन्। अध्यक्ष पदका अर्का प्रत्यासी सुमन पुरीलाई १ सय ८८ मतले पछि पार्दै थेबे विजयी भएका हुन्।
थेबेले ७ सय ९६ मत ल्याएका छन् भने पुरी ६ सय ८ मतमा सीमित भएका छन्। कुल १ हजार ७ सय ६४ मतदाता मध्ये १ हजार ४ सय ४ जनाले मतदान गरेका थिए। महासचिवमा थेबे प्यानलका महेश चौलागाईं विजयी भए भने उपाध्यक्षमा महाराज गुरुङ र विनय शाह, उपमहासचिवमा उपेन्द्र शाही, सचिवमा मदन भण्डारी, महिला सचिवमा निशा लिम्बु सुब्बा, र मधेसी सचिवमा मोबिन अख्तर आलम विजयी भएका छन्। सबै थेबे पक्षका हुन्।
नेतृत्ववर्गबाट समेत सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास विफल भएपछि थेबे र पुरी दुवै प्रतिस्पर्धामा उत्रिएका थिए। मंगलबार बिहानैदेखि विद्युतीय माध्यमबाट भएको मतदानको मंगलबार अबेर नतिजा आएको हो।




































