एमाले एकजुट छ, कुनै बम पडकने वाला छैन : अध्यक्ष ओली
वि.सं.२०८२ असार १४ शनिवार १६:३९
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी नेकपा एमाले फुटाउन खोज्नेहरू भ्रममा नपर्न आग्रह गरेका छन् ।
मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसर पारेर मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको कार्यकमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको कार्यक्रम भाँड्नका लागि आज वृक्षारोपण कार्यक्रम राखिएको भन्दै केही मिडियाले भ्रम फैलाएकोमा उनको आपत्ति थियो ।
‘आज मदन भण्डारी ७४ औं जन्मजयन्ती पनि हो । राष्ट्रिय वृक्षारोपण पनि हो । देश त्यसमा लागेको छ । कुन चाहिँ अनलाइन हो कुन्नी थाहा छैन, यो कार्यक्रम भाँड्नका लागि वृक्षारोपण कार्यक्रम राखियो भनेर भन्छ,’ प्रधानमन्त्री ओलीले भने ।उनले आज असार १४ गतेको दिन पारेर एमालेमा ठूलै केही हुन्छ भनेर धेरै आशा गरेको बसेको पनि उल्लेख गरे ।‘मदन भण्डारीको ७४ औं जन्मजयन्ती, यसलाई धेरैले विभिन्न आश गरेका छन् । यहाँ मैले बम पड्काउँछु, विद्या भण्डारीजीले बम पड्काउनुहुन्छ, भन्ने सपना देखेर बसेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘कुनै बम, बन्दुक, बारुद, गोला केही पड्कनेवाला छैन । आश नगरे हुन्छ । नेकपा एमाले एक छ, एक हुन्छ, एकजुट भएर लाग्छ ।’
उनले एमालेमा आफू र विद्या भण्डारी आउने कार्यक्रम केही गरि पनि नभाँडिने बताए ।‘अनि अहिले साथिहरू बस्ने ठाउँ नपुगेर यस्तो छ । यो कार्यक्रम के भाडिनु ? नेकपा एमाले जहाँ छ, नेकपा एमालेसँग निकट रहेका संगठन जहाँ छन्, त्यहाँ भाँडिन्छ ? म आउने र विद्या भण्डारी जी आउने कार्यक्रम कसरी भाँडिन्छ ?,’ प्रधानमन्त्री ओलीले भने ।






































