पछिल्लो दुई आर्थिक वर्षमा १५ लाखभन्दा बढी नेपाली बेरोजगार सूचीमा सूचीकृत
वि.सं.२०८२ असार २४ मंगलवार १७:०२
shares

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले पछिल्लो दुई आर्थिक वर्षमा १५ लाखभन्दा बढी नेपाली बेरोजगार सूचीमा सूचीकृत भएको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा सांसद प्रेम सुवालले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले दुई वर्षमा १५ लाख ४२ हजार श्रमिकहरू बेरोजगार सूचीमा सूचीकृत भएको बताएका हुन् ।रोजगारीको हक सम्बन्धी नियमावली, २०७६ को प्रावधानबमोजिम आर्थिक वर्ष २०८१/८२ का लागि ७ लाख ९७ हजार ७२५ जना र आर्थिक वर्ष २०८२/८३ का लागि ७ लाख ४५ हजार ४३५ जनाले बेरोजगार सूचीमा नाम दर्ता गराएको मन्त्री भण्डारीले बताए । दुई आर्थिक वर्षमा १५ लाख ४३ हजार १६० श्रमिक बेरोजगारको सूचीमा सूचीकृत भएका हुन् ।
सांसद सुवालले देशमा सूचीकृत बेरोजगारको सङ्ख्या, उनीहरूलाई स्वदेशमा रोजगारी दिने योजना, वैदेशिक रोजगारीमा गएका नेपालीको सङ्ख्या र मृत्युको तथ्याङ्कबारे प्रश्न सोधेका थिए ।त्यसको जवाफमा मन्त्री भण्डारीले सरकारले बेरोजगारलाई रोजगारी दिन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत आर्थिक वर्ष २०८१/०८२ मा ६० हजारलाई रोजगारी दिने लक्ष्यसहित बजेट विनियोजन गरिएको बताए ।


































