केपी ओली नेतृत्वको अहिले विकल्प छैन : सासद थपलिया
वि.सं.२०८२ साउन ७ बुधवार १८:३०
shares

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता तथा पार्टीका केन्द्रीय सदस्य जगन्नाथ थपलियाले राष्ट्रियताको रक्षार्थ केपी शर्मा ओलीको नेतृत्वको विकल्प नरहेको बताएका छन् ।
काठमाडौंमा सम्पन्न एमालेको दुईदिने केन्द्रीय समिति बैठकमा नेता थपलियाले पार्टीभित्र ऐक्यबद्धता र अनुशासनको आवश्यकता भएको बताए । उनले भने, “राष्ट्रियताको रक्षाका लागि केपी ओली एकमात्र नेता हुनुहुन्छ, विकल्प खोज्नु भनेको हामी कमजोर हुनु हो ।” ओली पार्टी र सरकारको नेतृत्वमा आएपछि धेरै महत्त्वपूर्ण कामहरु भएको पनि जानकारी उनले दिए ।नेता थपलियाले पार्टीको जिल्लास्तरको संगठनलाई समन्वयमा ल्याएर पालिका र प्रदेश सरकारलाई प्रभावकारी कार्यान्वयन निकाय बनाउनु जरुरी रहेको बताए । उनले पार्टीभित्रको एकता र नेतृत्वप्रति आस्था मजबुत बनाउने दिशामा सबै तहका नेताहरूले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
थपलियाले पछिल्लो समय सामाजिक सञ्जालमार्फत पार्टी र नेताहरूमाथि भइरहेका अनावश्यक प्रहारप्रति गम्भीर चिन्ता व्यक्त गरे । “सामाजिक सञ्जाल अहिलेको आकर्षण हो, तर यसलाई सकारात्मक प्रभाव पार्नेगरी सदुपयोग गर्नुपर्छ ।”पार्टीका जिम्मेवारीमा बसेर पनि पार्टीविरुद्ध क्रियाकलाप गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा नेता थपलियाले स्पष्ट अडान राखे । पार्टीले गरेका राम्रा कामहरूलाई छायामा पार्न कतिपय व्यक्तिहरू आफ्नै पार्टीभित्रबाट षड्यन्त्र गरिरहेको भन्दै उनले भने, “यस्तो कार्यलाई सहन सकिन्न, छानबिन गरेर कारबाहीको प्रक्रिया अघि बढाउनुपर्छ ।”
थपलियाले पार्टीको सुदृढीकरण र अनुशासन कायम राख्न नेतृत्वले कडाइका साथ निर्णय लिनुपर्ने र पार्टीभित्रको विश्वसनीयता र सार्वजनिक छवि सुदृढ गर्न सबैले जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने बताए ।



































