माइतीघरमा भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङको पुत्लामा जुत्ता हानियो
वि.सं.२०८२ भदौ ५ बिहीवार १८:०४
shares

काठमाडौं । भारत र चीनबिच भएको नेपाली भूमि लिपुलेक हुँदै व्यापारिक नाका सञ्चालन गर्ने सहमति विरुद्ध बिहीबार राजधानीमा युवाहरूले विरोध प्रदर्शन गरेका छन् ।
माइतीघर मण्डलामा स्वतन्त्र युवा समूहको नाममा गरिएको प्रदर्शनमा सहभागी युवाहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिनपिङको पुत्लामा जुत्ता हानेर आपत्ति जनाएका थिए ।त्यस्तो प्रदर्शनमा सहभागी ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई पुत्ला जलाउने प्रयाससहित अशान्ति सिर्जना गर्न खोजेको भन्दै नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
युवाहरूले लिपुलेक नेपाली भूमि भएको भन्दै भारत–चीनबीच भएको सहमति नेपालको सार्वभौमसत्ता माथि हस्तक्षेप भएको आरोप लगाएका थिए । उनीहरूले सरकारलाई ठोस कूटनीतिक पहल गर्न आग्रह गर्दै नारा प्रदर्शनसमेत गरेका थिए ।





































