नेपाल बन्छ, हामी आफै बनाउँछौ : प्रधानमन्त्री ओली
वि.सं.२०८२ भदौ ६ शुक्रवार १४:३७
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई समृद्ध बनाउन सरकार निरन्तर लागिरहेको भन्दै सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्नेमा जोड दिनु भएको छ ।
सिस्नुपानी नेपालको प्रस्तुति ‘जुरुक्क कर्णाली’ कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भएका सकारात्मक प्रयास र विकासलाई पनि महत्त्व दिनुपर्ने बताउनुभयो । उहाँले कसैलाई दोषारोपण गरेर नभई कर्मठ भएर अघि बढ्दा मात्रै नेपाल बन्ने स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यो कार्यक्रम कर्णालीको विकासका लागि हौसला दिने र आशाको दियो बाल्ने खालको छ तर, भएका विकास र प्रगतिका कुरा अझै जनतासम्म पुगेका छैनन्, कर्णालीमा हामीले विश्वविद्यालय, स्वास्थ्य प्रतिष्ठान, कर्णाली करिडोर, हुम्ला जोड्ने बेलिब्रिज, रङ्गशाला आदि बनाइसकेका छौँ, कर्णालीको स्याउले अब बजार पाउँछ, अब सबै सदरमुकामसँगै हुम्लामा पनि पिच बाटो पुग्छ ।’उहाँले कर्णालीमा भएको विकासलाई गीत–संगीतले चित्रण गर्न थालेको भन्दै मोटरबाटो चढी जाउँला रारा घुम्न जस्ता गीतहरू अब यथार्थ भइसकेका बताउनुभयो ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा विशिष्ट व्यक्तिहरू र दर्शकहरूको उपस्थितिमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले आगामी सन् २०२६ मा नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुने तयारी भइरहेको स्मरण गराउनुभयो । उहाँले सरकार गच्छेअनुसार कर्णालीको विकासलाई उच्च प्राथमिकता दिने आश्वासन पनि दिनुभयो ।दैलेखमा मिथेन ग्यासको भण्डार पत्ता लागिसकेको उदाहरण दिँदै उहाँले खानी उत्खनन र ग्यास प्रयोगतर्फ पनि सरकार सक्रिय रहेको जानकारी दिनुभयो । ‘अब हामीले यार्सागुम्बा निर्याततर्फ पनि ध्यान दिनेछौँ, निरङ्कुश राजतन्त्रको अँध्यारो युगमा जस्तो होइन, लोकतान्त्रिक गणतन्त्रमा कर्णालीले न्याय पाउँछ, नेपाल बन्छ, बन्दै छ, कर्णाली बन्छ, बन्दै छ, सिङ्गै नेपाल उठ्छ, कर्णाली जुरुक्क उठ्छ’, उहाँले भन्नुभयो ।






































