नासु पदमा पनि खुला प्रतिस्पर्धाबाट पदपूर्तिको व्यवस्था राख्ने विषयमा सहमति
वि.सं.२०८२ भदौ १६ सोमवार १३:५४
shares

काठमाडौं । संघीय निजामती सेवामा नायब सुब्बा (नासु) पदमा पनि खुला प्रतिस्पर्धाबाट पदपूर्तिको व्यवस्था राख्ने विषयमा सहमति जुटेको छ ।
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा निजामती सेवामा १० प्रतिशत खुला प्रतिस्पर्धाको व्यवस्था राख्ने सहमति जुटेको हो ।यसअघि प्रतिनिधि सभाको बैठकबाट पास भएको निजामती सेवा विधेयक प्रतिवेदनमा नासु पद शतप्रतिशत बढुवाबाट पदपूर्ति गर्ने व्यवस्था थियो । राष्ट्रिय सभामा पुग्दा यो व्यवस्था उल्टिएको हो ।
राष्ट्रिय सभाले यसअघि सहसचिव पदको पदपूर्तिको व्यवस्था पनि उल्टाएको थियो । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले विधेयक माथिको दफावार छलफलको क्रममा सहसचिवमा १० प्रतिशत खुला प्रतिस्पर्धा राख्ने सहमति जुटाएको थियो । यसअघि प्रतिनिधि सभाले पास गरेको निजामती सेवा विधेयक प्रतिवेदनमा रहेको अतिरिक्त सचिवको व्यवस्थालाई पनि विधायन व्यवस्थापन समितिले हटाएको थियो ।



































