एमाले विधान महाधिवेशन : आज समूहगत छलफल हुँदै
वि.सं.२०८२ भदौ २१ शनिवार ०८:४९
shares

काठमाडौं । नेकपा (एमाले)को जारी दोस्रो विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनहरूमा विस्तृत छलफल गर्न १० वटा समूह बनाइएको छ ।
आज (शनिबार) ती समूहहरूमा दिनभर छलफल गरेर निष्कर्ष निकाल्ने कार्यसूची तय भएको छ । आइतबार प्रत्येक समूहको निष्कर्ष प्रस्तुत गरिनेछ । समूहहरूको प्रस्तुतिबाट आएको निष्कर्ष प्रतिवेदन प्रस्तोताहरूले स्पष्ट पार्नेछन् र त्यसपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनलाई सम्बोधन गर्दै औपचारिक रूपमा समापन गर्ने कार्यक्रम तय भएको छ ।
हिजो (शुक्रबार)बाट सुरु भएको विधान महाधिवेशनको उद्घाटन सत्रपछि अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरे । त्यसपछि महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधनसहितको प्रतिवेदन पेस गरे भने सल्लाहकार परिषद्का अध्यक्ष अमृत बोहराले सल्लाहकारको प्रतिवेदन प्रस्तुत गरे ।निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगका प्रतिवेदन भने समयाभावका कारण शुक्रबार प्रस्तुत हुन सकेन । ती प्रतिवेदन आज बिहान प्रस्तुत गरिनेछ । त्यससँगै फरक मत राख्दै आएका कर्ण थापालाई पनि आफ्नो धारणा राख्न छुट्टै समय दिने तयारी गरिएको छ ।
प्रतिवेदन प्रस्तुतिपछि आजदेखि हुने समूह छलफलका लागि पार्टीले प्रदेश, उपत्यका र केन्द्रीय संरचनालाई आधार बनाउँदै १० वटा समूह तोकेको छ । कोशी, सुदूरपश्चिम, मधेश, कर्णाली, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा आधारित प्रतिनिधिहरूले छुट्टाछुट्टै समूहमा छलफल गर्नेछन् ।त्यसैगरी, उपत्यका विशेष प्रदेश, विभिन्न जनसंगठन, सम्पर्क समन्वय समिति र प्रवासमा संलग्न प्रतिनिधिहरूको छुट्टै समूह बनाइएको छ ।यस्तै, केन्द्रीय निकायका प्रतिनिधि तथा केन्द्रीय कार्यालय र विभागीय संरचनालाई समेटेर अर्को समूह तोकिएको छ भने केन्द्रीय निकाय आयोजकहरूलाई सुझाव दिने मात्र उद्देश्यका लागि छुट्टै समूहमा राखिएको छ ।
यी समूहहरूले आ–आफ्नो क्षेत्र, संगठन र जिम्मेवारी अनुसार राजनीतिक, सांगठनिक र विधानसम्बन्धी प्रतिवेदनका विषयमा गहिरो छलफल गर्नेछन् । छलफलमा आएका निष्कर्षहरू आइतबारको सत्रमा प्रस्तुत भएपछि प्रतिवेदन प्रस्तोताहरूले स्पष्टीकरण दिने र त्यसपछि महाधिवेशनको निर्णयमा रूपान्तरण गर्ने तयारी गरिएको छ ।महाधिवेशनमा आज हुने समूह छलफललाई एमाले नेतृत्वले विशेष महत्वका साथ हेरेको छ । राजनीतिक प्रतिवेदनमार्फत प्रस्तुत गरिएका मुलुकको वर्तमान राजनीतिक परिदृश्य, संघीयता, आर्थिक अवस्था र सरकार सञ्चालनका सवालमा विस्तृत बहस हुने अपेक्षा गरिएको छ ।
त्यस्तै, सांगठनिक प्रतिवेदनले पार्टीभित्रको सदस्यता विस्तार, संगठनात्मक संरचना, कमिटी गठन, प्रशिक्षण र आन्तरिक अनुशासनबारे छलफललाई केन्द्रमा राख्नेछ । विधान संशोधन प्रस्तावबारे पनि छलफल गरी निष्कर्ष निकालिने छ ।एमालेको विधान महाधिवेशनले आन्तरिक बहसमार्फत संगठनलाई थप सुदृढ बनाउने मात्र नभई आगामी निर्वाचन र मुलुकको राजनीतिक यात्रामा निर्णायक भूमिका खेल्ने आधार तय गर्ने अनुमान गरिएको छ । यही कारण पनि प्रत्येक समूहमा हुने छलफललाई केन्द्रीय नेतृत्वले महत्वका साथ हेरेको छ ।




































