विभिन्न अपराधमा संलग्न रहेर जेलमा रहेका अपराधी उम्काउन जेन जीले आन्दोलन गरेको थिएन : पदम गिरी
वि.सं.२०८२ भदौ २५ बुधवार १५:५५
shares

काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले प्रधानमन्त्री केपी ओलीको राजीनामा पछि पनि सरकारी निकाय जलाउँदा पनि राज्यका जिम्मेवार निकायहरू मूकदर्शक बन्नु डरलाग्दो र धेरै पछिसम्म झस्काउने विषय बन्ने बताएका छन्।
जेन जीको शान्तिपूर्ण आन्दोलनमा स्वार्थी समूहको घुसपैठ गराएर आन्दोलनलाई भड्काउने काम हुँदा पनि सुरक्षा निकायको सतर्कता, सजगता र संयमता नदेखिएको उनको बुझाइ छ। उनले भनेका छन्, ‘देशमा सुशासन कायम होस,विकासको मूल फुटोस् , युवाले देशमा नै रोजगारी सहितको सम्मानित र सुरक्षित जीवन जिउने उज्यालो भविष्यको खोजी गर्न सकौँ भनी नयाँ पुस्ता शान्तिपूर्ण आन्दोलनमा आउनु भएको थियो । तथापि भदौ २३ गते,एकातर्फ देश बन्नु पर्दछ भन्ने पवित्र उद्देश्य बोकेको जेन जीको शान्तिपूर्ण आन्दोलनमा स्वार्थी समूहको घुसपैठ गराएर आन्दोलनलाई भड्काउने काम भयो भने अर्को तिर सुरक्षा निकायको सतर्कता, सजगता र संयमता पनि देखिएन।’
जेन जी बालकले जीवनका रंगीन सपना देख्नुपर्ने उमेरमा सडकमा प्राण गुमाउनुको पीडा केवल उसको परिवारको मात्रै नभई सिङ्गो राष्ट्रको साझा पीडा भएको बताए। यस परिस्थितिलाई नेपालको हित नचाहने विदेशी शक्ति, धमिलो पानीमा माछा मार्न खोज्ने तत्त्व, अपराध गरेर जेलजीवन भोगिरहेका अपराधीहरूले उम्किने अवसरको रूपमा बदल्ने कुरा प्रयास जेन जीको माग नभएको उनले बताएका छन्। उनले भनेका छन्, ‘तर विडम्बना प्रधानमन्त्रीले राजीनामा दिए पछि पनि सिंहदरबार, संसद्, अदालत, राष्ट्रपति भवन, अख्तियार, प्रहरी कार्यालय, कारागार, अस्पताल, विद्यालय, बैङ्क, व्यापारिक भवन र व्यक्तिका निजी सम्पत्ति छानिछानी जलाइयो, जुन कार्यको राज्यका जिम्मेवार निकायहरू मूकदर्शक बने। यो कुरा धेरै नै डरलाग्दो र धेरै पछिसम्म झस्काउने विषय हो र रहिरहनेछ ।’
नयाँ हुर्कँदै गरेका जेन जी पुस्ताका लागि लोकतन्त्रसहितको समृद्ध नेपाल चाहिएको बताएका छन्।































