आफ्ना नेता तथा कार्यकर्तालाई एमाले अध्यक्ष ओलीको अपिल, सत्यतथ्य बोल्नुहोस बोल्न पाइन्छ
वि.सं.२०८२ कात्तिक २ आइतवार ०९:०६
shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब टोलटोलमा टोल सुरक्षा समिति बनाएर अघि बढ्नुपर्ने बताएका छन् । देशैभरि असुरक्षा बढेकोले प्रहरीलाई सघाउन टोल सुरक्षा समिति आवश्यक रहेको ओलीले बताए ।
एमाले सम्पर्क समन्वय कमिटीको भेटघाट तथा चियापान कार्यक्रमलाई शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले मानिसहरू भित्र कायरता जगाएर राज्यलाई कमजोर बनाई राज गर्ने प्रयत्न भएको बताए । यस्तो अवस्थामा जनताले आफ्नो सुरक्षा आफैंले गर्नुपर्ने अवस्था आएको ओलीले बताए ।सरकारले समातेका अपराधिलाई छाड भन्ने अनि राजनीतिक नेताहरूलाई गिरफ्तार गर भन्ने गरेको ओलीले सुनाए । ‘यस्तो अवस्थामा जनताले आफ्नो सुरक्षा आफैले गर्नु पर्यो, टोल टोलमा सुरक्षा समिति बनाउनै पर्यो’, उनले भने ।
अध्यक्ष ओलीले पार्टीका नेता कार्यकर्तालाई सत्यको अगाडि नझुक्न आग्रह गरे । ‘सत्य कुरा डटेर बोल्नुस्, बोल्न पाइन्छ, वाक स्वतन्त्रता हाम्रो नैसर्गिक अधिकार हो, बोल्ने गर्नुस्, अपराधीहरूले मनपरी बोल्न पाउने हामीले जायज कुरा बोल्न नपाउने भन्ने हुँदैन, साथीहरू बोल्ने गर्नुस्’, अध्यक्ष ओलीले भने ।अध्यक्ष ओलीले तिहारमा औँसीको अँध्यारो रातलाई उज्यालोले चिर्न बत्ती बालिने बताउँदै अहिले देशमा छाएको अँध्यारोलाई पनि उज्यालो बालेर चिर्नुपर्ने बताए । ‘अहिले देशमा औँसीको अँध्यारो छाएको छ, यो स्याहा सरकार हो, यो स्याहा सरकारका विरुद्ध हामीले उज्यालो बाल्नै पर्दछ, ज्योति बाल्नै पर्दछ, उज्यालो बाल्नै पर्दछ’, ओलीले भने ।
अध्यक्ष ओलीले अहिले देशमा चुनावका स्थिति नभएको पनि बताए । त्यसैले एमालेले विघटित संसद्को पुर्नस्थापनाको माग उठाएको बताए । जेलबाट भागेका अपराधी र लुटिएका हतियार फिर्ता नभएसम्म चुनाव हुन नसक्ने उनको भनाइ छ । ‘कि सम्झौता छ अपराधीहरूसँग तपाईंहरूको, आफूहरूलाई सहयोग गर्ने भन्ने’, उनले भने ।




































