समानता भएमा एकता गर्न नहुने कुरा मात्र होइन, एकता गर्न ढिला पनि गर्नुहुँदैन : अध्यक्ष माधवकुमार नेपाल
वि.सं.२०८२ कात्तिक १२ बुधवार १३:३७
shares

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट एकता आजको आवश्यकता भए पनि स्पष्ट आधार नभई पार्टी एकता सम्भव नभएको बताएका छन् । बुधवारबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
‘कम्युनिस्ट एकता आजको आवश्यकता हो । किनभने समाजवादी क्रान्ति सम्पन्न गर्न एउटा बलियो क्रान्तिकारी शक्तिको आवश्यकता पर्छ’, नेता नेपालले आफ्नो प्रतिवेदनमा भनेका छन्, ‘त्यो बलियो क्रान्तिकारी शक्तिको निर्माण यहाँका क्रान्तिकारी कम्युनिस्ट पार्टीको एकताबाट नै हुनसक्छ ।’तथापि नेपालले स्पष्ट आधार निर्माण नभई पार्टी एकता हुन नसक्ने बताएका छन् । अध्यक्ष नेपालले पार्टी एकताका लागि सबैभन्दा पहिले पार्टीको नाम, मार्गदर्शक सिद्धान्त, रणनीतिक लक्ष्य, क्रान्तिकारी कार्यक्रम, कार्यदिशा र कार्यनीतिजस्ता मुलभूत विषयमा एकरुपता हुनुपर्ने बताएका छन् ।
‘यी सबै महत्त्वपूर्ण सवालमा समानता नभई कसैसँग पनि पार्टी एकता हुन सक्दैन ।समानता भएमा एकता गर्न नहुने कुरा मात्र होइन, एकता गर्न ढिला पनि गर्नुहुँदैन’ अध्यक्ष नेपालको भनाई छ ।




































