सहरी विकास मन्त्रालयले स्थानीय बञ्चरेडाँडाबासीलाई छलफलमा बोलायो
वि.सं.२०८२ कात्तिक १४ शुक्रवार १६:५२
shares

काठमाडौँ । बञ्चरेडाँडा ल्याण्डफिल साइट क्षेत्रका स्थानीयले दुई दिनदेखि फोहोर बोकेर गएको गाडी रोकेपछि सहरी विकास मन्त्रालयले स्थानीयलाई आज वार्तामा बोलाएको छ ।
२०७९ जेठ २६ गते भएको १८ बुँदै सम्झौता कार्यान्वयन नभएको भन्दै स्थानीयले काठमाडौँ महानगरसहित उपत्यकाबाट फोहोर बोकेर गएका गाडीहरू रोकिएका छन् । काठमाडौँ महानगरपालिकाले घरबाट फोहोर ननिकाल्न सूचना नै जारी गरिसकेको छ ।स्थानीयहरूको विरोधपछि मन्त्रालयले छलफलमा बोलाएको ल्याण्डफिल साइट रहेको नुवाकोटको ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङले जानकारी दिए ।
‘हामीलाई छलफल गर्न बोलाएको छ, हामी जाँदैछौँ । गएपछि सहमति वा असहमति के हुन्छ त्यो जानकारी भइहाल्छ,’ तामाङले भने । तामाङकाअनुसार प्रभावित क्षेत्रका स्थानीय सरकार प्रतिनिधिहरू, स्थानीय अगुवाहरूको सहभागिता आजै छलफल हुनेछ ।




































