राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यपत्र प्रस्तुत गर्दै पार्टीका आगामी पाँच कार्यदिशा सार्वजनिक
वि.सं.२०८२ कात्तिक १७ सोमवार १४:४८
shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यपत्र प्रस्तुत गर्दै पार्टीका आगामी पाँच कार्यदिशा सार्वजनिक गरेका छन्।
‘समसामयिक राजनीतिक परिस्थिति तथा राप्रपा नेपालको भावी कार्यदिशा सम्बन्धी कार्यपत्र’ प्रस्तुत गर्दै थापाले जेनजी आन्दोलनलाई जनआकांक्षाको अभिव्यक्ति भएको भन्दै त्यसको अधुरो एजेन्डालाई टुंगोमा पुर्याउन राप्रपा नेपाल सक्रिय हुने बताएका छन्।थापाले भ्रष्टाचार अन्त्य, सुशासनको प्रत्याभूति, हिन्दू अधिराज्यको स्थापना र प्रदेश संरचना खारेजीलाई प्रमुख एजेन्डा बनाउँदै देशव्यापी अभियान सञ्चालन गर्ने घोषणा गरेका छन्।उनले मङ्सिर र पौष महिनामा हस्ताक्षर अभियान, ‘मेची–महाकाली जागरण यात्रा’, जनसभाहरू र अन्तरसंवाद कार्यक्रम सञ्चालन गर्ने योजना प्रस्तुत गरेका छन्।
थापाले हालको संघीय धर्मनिरपेक्ष गणतन्त्र प्रणाली असफल भएको भन्दै समान विचारधारा भएका हिन्दूवादी, राजावादी र राष्ट्रवादी शक्तिहरूसँग एकता र सहकार्यका प्रयासलाई तीव्र पार्ने बताएका छन्।राप्रपा नेपालले आगामी फागुन २१ गते हुने आमनिर्वाचनलाई आन्दोलनकै रूपमा प्रयोग गर्ने बताएको छ।केन्द्रीय कार्य सम्पादन समितिको बैठक नबदुर्गा पार्टी प्यालेस सुकेधारामा सोमबार दिउँसो १ बजेबाट शुरु भएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।




































