जेनजी पुस्ता अन्धकार चिर्ने उज्यालो बन
वि.सं.२०८२ मंसिर ११ बिहीवार १२:१९
shares

राजन कार्की
अदूरदर्शी राजनीतिका कारण राष्ट्र अन्धकार उन्मुख भयो । कुन बेला के हुन्छ ? भन्न सकिन्न ।
यथार्थमा जेनजी आन्दोलनपछि सबै संरचना ढले । राष्ट्र संविधानविहीन, राजनीति नीतिविहीन हुनपुगेको छ । राष्ट्रलाई यो संकटबाट पार लगाउने क्षमता कसैमा देखिन्न ।
यथार्थमा यो सरकार सेनाले बनाइदिएको हो । राष्ट्रपतिमा यो सरकार बिघटन गर्ने लूर छैन । यो सरकारमा चुनाव गराउनसक्ने खुशी छैन । द्वेष र अराजक प्रतिस्पर्धा बढ्दो छ । अभिभावक नभएको घर र देश उस्तै लथालिङ्ग अवस्थामा पुगेको छ ।
इतिहासमा यस्तो शून्यता कहिले पनि थिएन । यो शून्यता चिर्न सकिएन भने देशै समाप्त हुनसक्ने जोखिम छ ।
भदौ २३ र २४ को जेनजी पुस्ताको आन्दोलन त्यही उकुसमुकुको बिस्फोट थियो । राज्यले नरसंहार गरेपछि यो आन्दोलन बिद्रोहमा रुपान्तरण हुनपुग्यो । यो बिद्रोहको २७ घण्टामा लोकतान्त्रिक गणतन्त्र, निर्वाचित संसद, न्यायपालिका, कार्यपालिका केही पनि बाँकी रहेन । सबै खरानी भए । यहाँसम्म कि राष्ट्रका सम्पदा र व्यक्तिका सम्पत्ति समेत खरानी हुनपुग्यो ।
यसपछि अन्तरिम सरकार बन्यो । जेनजी पुस्ताले विजय हासिल ग¥यो, सरकार बन्यो बुढो पुस्ताको । सरकारमा जेनजी देखिएन । जब सरकारमा जेनजी देखिएन, जेनजीका माग, एजेण्डा देखिने कुरै भएन । बिगतको साँढे २ महिना न जेनजी देखिन्छ, न जेनजीको एजेण्डाहरु जिवित देखिन्छन् । देखिन्छ त उही मनलागी तन्त्रको निरन्तरता ।
फागुन २१ मा चुनाव घोषणा भएको छ । एकथरि जेनजी कार्यकारीको निर्वाचन भनिरहेका छन्, अर्काथरि लोकतन्त्र र संविधानको निरन्तरता खोजिरहेका छन् । एमाले चुनाव गराउने सरकारलाई अवैधानिक भनिरहेको छ । एमालेले युवा फोर्स नै गठन गरेर देशैभरि अस्थिरता रोक्न थालेको छ । संसद पुनस्र्थापना एमालेले बटम लाइन बनाएको छ । जेनजी पुस्ता संसद पुर्नस्थापना भए अर्को आन्दोलन भन्दै छ ।
राजनीतिक दलहरुले आफ्नै कारणले, आफ्नै असफलता र अकर्मण्यताका कारणले जेनजी पुस्ता आक्रोसित हुनपुगेको र हिंसा भएको जिम्मेवारी लिन तयार छैनन् । बालबालिका मारेको, दमन गरेको र अराजकता फैलाएको जिम्मा नलिनाले देश गम्भीर मोडमा पुगिसकेको छ । अझै पनि राजनीतिक षडयन्त्र गर्न अघि सर्नु भनेको भोलिका दिनामा ठूलै दुर्घटना निम्त्याउनु हो भन्ने विषयमा किन जेनजीहरु र दलहरु गम्भीर छैनन् ।
जे जति विध्वंश हुनुथियो भयो, अब निर्माण सुरू हुनेछ भनेर गरिएका सबै विश्वास र आशाहरू तुषारापात भएको छ । खरानीबाट देश उठाउनु छ, सुशासन स्थापित गर्नुछ । यो कुरा ठूला दलहरुले नबुझ्नु दुर्भाग्य हो ।
जो शान्ति, प्रगति र सुशासन दिने जिम्मेवार थिए, बहुदलको ३७ वर्ष, लोकतन्त्रको १७ वर्ष शासनमा थिए, तिनीहरूमा विवेक र नैतिकता नभएका कारण देश अधोगतितिर उन्मुख छ । राजनीतिलाई व्यवसाय बनाएपछि के हुन्छ भन्ने ताजा दृष्टान्त भदौ २३, २४ को हिंसात्मक आन्दोलन हो, राज्य दमन र दमनपछिको प्रतिकृया हो । परिदृश्य हो । सहमति, संवाद र सहकार्य गर्ने हो भने साधन, स्रोत र समयको अभाव छैन, कुनै अल्झो र तगारो पनि छैन । जनताले अझै आँखा चिम्लेर साथ दिन्छन् भन्ने भ्रममा दलहरु र ठूला नेताहरु छन् भने त्यो भ्रम जेनजी पुस्ताले मेटाइदिएका हुन् त ? अझै पनि भ्रष्टाचार र नेपोटिजमको साम्राज्य चलाउन सकिन्छ भन्ठान्ने हो भने त्यो असफल पार्टी नेताहरुको दिवा सपना मात्र हुनेछ ।
२०४६ सालदेखि २०८२ सालसम्म जनताले साथ र सहयोग दिएकै हुन् । आफूमा भर विश्वास गर्ने जनताको शोषण गर्नेहरु अझै विवेकहीन हुन्छन् भने त्यसको नतिजा सुखद हुनेछैन । प्रधानमन्त्रीले हेलिकोप्टरमा भाग्नुप¥यो, मन्त्रीहरुलाई सशस्त्र प्रहरीले बचाउनु प¥यो, शेरबहादुर देउवा र डा.आरजु देउवालाई जनताले लछारपछार पारेको देखियो । प्रचण्डजस्ता नेताहरु लुक्नुप¥यो । अझै पनि चेत खुल्दैन भने त्यो यिनको बुद्धीहीनता र देशको अधोगतिको संकेत हो ।
ठूला भनिएका नेताहरुले आत्मसमीक्षा गरुन्, देखिनेछ– सिद्धान्तमा कोही अडेनन्, नैतिकतामा कोही रहेनन् । नयाँ नेपाल बनाउँछौ भन्ने यिनै थिए, यिनीहरु हुँडार र लुटारजस्ता मात्र देखिए, नेपालको सतित्व र अस्तित्व रक्षा गर्ने लक्ष्यण कुनै नेतामा देखिदैन ।
यसकारण नेपालको हालत बलात्कृत अवला नारीको जस्ता हुनपुग्यो ।
लज्जा पनि लज्जित हुनेगरी नेताहरु कति नाङ्गिन सकेका ? जय नेपाल, लाल सलाम भन्नेहरूले लगौंटी पनि बाँकी राखेनन् । सहारा र सल्लाहका लागि वर्षको चालिसचोटी दिल्ली, बेइजिङ् वा वाशिङ्टनमा छलाङ्ग लगाउनेहरूले घुमाएर कान समाएको शैलीमा ‘जय हिन्द’ ‘यस सर’ नै भन्न थालेको धेरै भयो । लाग्छ, लोकतन्त्रवादी नामधारीहरूले अरू केही जानेकै छैनन् । यिनको लोकतन्त्र एक्सप्रेसको गति–मतिको बेगले नेपालीत्व सखाप हुँदैछ । गौरवपूर्ण नेपाल, विश्वमा सम्मानित नेपाल असफल राष्ट्र बन्यो ।
जनयुद्ध गरून् कि जनआन्दोलन, लोकतन्त्र भनुन् कि समाजवाद, यिनले कहिले विश्लेषण गरेनन् । असन्तुष्टिले पराकाष्ठा नाघेपछि जेनजी पुस्ता आन्दोलित भएका हुन् । आमनागरिकले जेनजी पुस्ताको साथ दिएका हुन् । देशको खास समस्या भनेकै नेता र पार्टीहरुको लुटाह प्रवृत्ति हो । कार्यपालिकाले व्यवस्थापिका र न्यायपालिकासम्म अपराधिकरण गर्नु हो । यो प्रवृत्ति बोकेका नेताहरु आज पनि स्वार्थको लुते धन्दाले पिरोलिरहेको छ । त्यसैले संविधान असफल भयो, नेताहरु असफल भए, पहिले न्याय नपाए गोर्खा जानु भनिन्थ्यो, वर्तमान कालखण्डमा न्याय खोज्न कहाँ जाने ?
२००८ सालमा कोसी, २०१६ सालमा गण्डकी, २०५१ सालमा महाकाली, २०५२ सालमा मेची र २०६३ सालपछि कर्णाली र सेतीजस्ता ठूला–ठूला नदीनालामा भारतको हैकम स्थापित गर्नपुग्यौं । भूपू प्रधानमन्त्री डा.बाबुराम भट्टराई भन्छन्– बुढी गण्डकीमा ओली, प्रचण्ड र माधव नेपालले ३ अर्वका दरले घूस खाए, प्रमाण मसँग छ । प्रमाणित नभए झुण्डिएर मर्छु । तर कुनै कानुनले तिनलाई छुँदैन । महालेखाले दुई थान जहाज खरिद गर्दा ४ अर्ब ३५ करोडको भ्रष्टाचार भएको किटानी गरिदियो । यसबाहेक गिरिबन्धुको जग्गा, सुनकाण्ड, एनसेल काण्ड, सेरा दरवारदेखि बालमन्दिरसम्मका जग्गा भ्रष्टाचारलगायतका सयौं काण्डहरु छन्, छानबिन हुँदैन । यही हो लोकतन्त्र ? कहाँ छ जवाफदेहीता ? जिम्मेवारी ?
दण्डित गर्नुपर्ने जनता त्रसित छन्, न्याय दिने न्यायालय नाङ्गेझार छ ।
लोकतान्त्रिक गणतन्त्र लुटतन्त्र नेपाल भयो, इमान, नीति, नैतिकता सिसा फुटेझैं फुट्यो । ९३ प्रतिशत बिपन्न, कमैया, कमलरी, सुकुम्बासी, बेरोजगार, असहायहरूलाई सपनाको व्यापार गर्ने लोकतन्त्र नामको सस्तो राजनीतिक बजारजस्तो छ नेपाल । नेताहरुले १७ वर्षसम्म सपना बेचेर कानुनको घोडा चढ्नु चढे । जयप्रकाश मल्लले वर्षको एकपल्ट गाईजात्रा देखाएर शोकमा परेकी महारानीलाई मनोरञ्जन दिने गर्थे, हाम्रा नेताहरूले बाह्रैमास गाईजात्रा देखाइरहे । हामी गाईजात्रे, लोकतन्त्र– गाइजात्रा भयो । यही गाईजात्राको पटाक्षेप हो जेनजी आन्दोलन ।
राजतन्त्र किन फालियो, हिन्दुधर्म किन मिल्काइयो, देशमा बढेको भ्रष्टाचार र इसाई, मुसाइकरणले देखाएको छ । सधैं शान्त नेपालमा धार्मिक, क्षेत्रीय, जातीय बढ्दो बिभाजनको कारण पनि यिनै नेता हुन् । महाभारतका दृष्टिहीन राजा र लोकतन्त्रका विवेकहीन नेताहरूमा भिन्नता रहेन । यति हुँदा पनि राजनीतिक सुकुलगुण्डाहरूको चेत पलाएको छैन ।
लोकतन्त्रको भजन गाउने नेताहरू लोकतन्त्रमा हुनैपर्ने विधिलाई कुल्चेर बुर्कुसी मारिरहे, जेनजीले सवक सिकायो, फेरि पनि जनइच्छा कुल्चेर अघि बढ्न खोजिरहेका छन् । जनतालाई भयाक्रान्त पारेर चलेको लोकतान्त्रिक बाहुबलीतन्त्रको अन्त हुनैपर्छ । जेनजी आन्दोलनको माग सुशासन हो, भ्रष्टमाथिको कारवाही हो ।
जेनजी सहिदको रगतको हिसाव खोज्ने र देश बचाउने समय यही हो । जेनजी विवेकशील हौ । अन्धकार चिर्ने उज्यालो बन ।


































