बालेनलाई ढाल्नखोज्ने ढल्लान् कि बालेन ?
वि.सं.२०८३ असोज ८ बिहीवार ११:०६
shares

जेनजी बिद्रोहले स्थापित पुराना दलहरु र नेताहरुको जुन तरिकाले सातो खाइदियो, त्यसपछि सत्ता र शक्तिबाट एकैपल्ट भुइँमा पछारिएका थिए । उनीहरु अन्तरिम सरकार बन्दा होसमा थिएनन्, चुनाव हुँदा होसमा त थिए, बोल्न सक्ने स्थितिमा रहेनन्, चुनावपछि रास्वपाले पाएको ऐतिहासिक दुई तिहाईको बहुमत देखेर जिल्लाराम परेका थिए ।
त्यसपछि बन्यो, बालेन साहको सरकार । केही हप्ता इन्तु न चिन्तु भएका पुराना दलका केही प्रतिनिधि जो प्रतिपक्षीमा टाक्सिन, खुम्चिन पुगेका थिए, तिनले बिस्तारै बालेन सरकारको आलोचना गर्न थाले । जब बालेन साहले जेठ १७ गते सीमा समस्याबारे बोले, भारतले मात्र होइन, नेपालले पनि भारतको सीमा मिचेको थाहा पाएको बताए र सीमा समस्या भारतसँग बसेर, छलफल गरेर समाधान गर्ने विषयको उठान गरे । तब प्रतिपक्षीले प्रधानमन्त्री बालेनलाई सय दिनको हनिमून समय पनि दिएनन् । संसद, सडकमा हल्लीखल्ली गरेर बालेन साह सरकारको आलोचना गरे– नेपालले कहाँ मिच्यो भारतको भूमि भन्न थाले । आधा कुरा गरेर प्रम बालेनको जिब्रो थुत्ने प्रयत्न गरिरहे, गरिरहेका छन् ।
भदौ १० गते को भोटेकोशीको बाढीले जुन तरिकाले जनजीवन र अर्थतन्त्र तथा पूर्वाधार ध्वस्त पार्ने गरेर विपद् ल्याइदियो । त्यसबारे संसदमा पुगेर प्रम बालेन साहले भनेका थिए– उद्धार गर्ने प्रयास भइरहेको छ । यसप्रकारको बाढीको प्रकोपबाट उद्धार गर्ने प्रविधि विश्वमै नभएको र नेपालसँग पनि छैन भन्दै सेना, सशस्त्र, प्रहरीका माध्यमबाट उद्धार, राहत गरिरहेको बताए । फेरि विपक्षी दलले प्रम बालेनको जिब्रो समात्दै किन छैन विश्वमा त्यस्तो प्रविधि भनेर आलोचना गरे । विश्वभरि जहाँ जहाँ यसखालको प्राकृतिक विपद् पर्छ, त्यहाँ त्यहाँ उद्धारमा खटिएका विदेशीले समेत यस प्रकारको बाढीको प्रकोप नदेखेको बताएका छन् । जेहोस्, विपक्षी दलहरु जसरी पनि बालेन सरकारलाइ ढाल्न र बालेन सरकार विरुद्ध जनता उचालेर सडकमा उफार्न खोजिरहेका छन् ।
यसैवीच प्रचण्डजस्ता अतिवादी कम्युनिष्ट जसले माओवाद त्यागेर नेकपा खोलेका छन्, उनले प्रतिपक्षीहरुलाई एक ठाउँमा भेला गराएर दशैं तिहारपछि सरकारविरुद्ध सडकमा आगो बाल्ने उद्घोष गरेका छन् । देश संकटमा छ, कसरी यो संकटबाट पार पाउने, स्थिरता, शान्ति र पुननिर्माणमा लाग्ने भन्ने सोच विपक्षीको छँदैछैन । एकबुँदे एजेण्डा बोकेका छन् विपक्षीले, जसरी पनि बालेन सरकार ढाल्ने, रास्वपालाई खण्डित पारिदिने ।
अर्थात् नेपाली राजनीतिको नयाँ परिदृश्य देखिएको छ– बालेनलाई ढाल्न खोज्ने ढल्छन् कि बालेन ढल्छन् ?
सरकारको कृयाकलाप हेर्दा प्रधानमन्त्री बालेन साह यति मजबुत भएर उभिएका छन् कि उनी जसरी पनि नेपालमा शान्ति सुव्यवस्था, सुशासन र समृद्धि ल्याउँछु भन्छन् । बालेनको सबैभन्दा ठूलो शक्ति जनताले दिएको अपार विश्वासको मत र बालेनमा रहेको इमान । बालेनले भ्रष्टाचार ग¥यो भन्न कसैले सकेका छैनन् । हो, बालेन विश्वमै ३६ वर्षे युवा हुन्, जेनजी विद्रोहबाट जन्मेको नेतृत्व हो, उनको काँधमा जेनजी शहिदको सपना पूरा गर्ने दायित्व छ, सुशासन स्थापित गराउनु छ ।
आश्चर्य त के देखियो भने जेनजी बिद्रोहले २७ घण्टामा भ्रष्टाचारमय बनेको लोकतान्त्रिक गणतन्त्रको जरो किलो नै उखेल्यो, सुशासन अझै रोपियन, कहिले रोप्ने, कहिले फल्ने बालेन ? रास्वपाका सभापति रवि लामिछानेले जनताका माझ उभिएर भनेका थिए– आमा, बालेनले देश बनाउँछ । चुनावी घोषणापत्र र जनतासँग करार गरेकै हो । वर्तमानको यक्ष प्रश्न हो, जनताको अपेक्षा कहिले पूरा हुने ?
चार दशकदेखि संगठितहरु तितरबितर भए, रवि र बालेनको रास्वपाले दुई तिहाई सिट जित्न सफल भयो । त्यो जित परिवर्तनमा देखिनुपर्ने हो । सत्ता बदलियो, जनजीवन बदलिएन । कसले रोक्यो रास्वपालाई, रवि र बालेनलाई । परिवर्तन देखाउने जिम्मेवारी पूरा गर, जवाफदेहीता देखाउ ।
जेनजी विद्रोह भएको वर्षदिनमा ७६ शहिदलाई सम्झेर, श्रद्धाञ्जली दिएर पुग्छ ? शहिदका सपना साकार नभएसम्म गोहीको आँसु बगाएर केही हुन्न । परिवर्तनका लागि बालेनलाई जिताएको हो, परिवर्तन कहाँ छ बालेन ? कर्मकाण्डतिर होइन, यथार्थ देखाउनुपर्छ ।
अति भएको थियो, जेनजी विद्रोहको जगमा पद्धतिगत छटपटी, भविष्यप्रतिको चिन्ताले राजनीतिक गतिलाई यूटर्न जनताले गरेका हुन् । जनता जागेकाले भ्रष्टाचारका किल्लाहरु ध्वस्त भएका हुन् । घरघरमा पीडा थिए, छन् । देशमा गरिखान पाइएन भन्ने युवाको गुनासो छ । विश्वका सामु जनताले इतिहास रचे, त्यो इतिहासका अर्जुन बालेन तिमी हौ । तिम्रो पौरख, सूरवीरता खोई ? समय नघर्कियोस्, बिस्कुन सुकाउने घाम लागेकै बेलामा हो । जुनेली रातमा बिस्कुन सुकाउनु भनेको पुर्पुरोमा हात राखेर पछुताउनुमात्र हुनेछ । जसरी पुरानाहरु आज पछुताइरहेका छन् । रास्वपाले राजनीतिक धारलाई बदल्नुपर्छ ।
जेनजी विद्रोहकै कारण देशको राजनीतिको केन्द्रमा युवा छन् । जुनसुकै पार्टी होस्, ती पार्टीको केन्द्रमा पनि युवा छन् । युवाआवाज अब दबाएर दबिन सक्दैन । परिवर्तनको जनअपेक्षा रवि र बालेनसँग छ । जनताले, जेनजीले महगो मूल्य चुकाइसके । अब परिवर्तन गर्ने, यथास्थिति बदल्ने, नयाँ राजनीतिक पद्धति बसाल्ने जिम्मेवारी रवि र बालेनकै काँधमा छ ।
अहिलेको बालेन सरकारका सामु एउटै यक्ष प्रश्न छ ः राजनीति र सुशासन, शान्ति र सम्बृद्धिको नयाँ खाका कोर्ने । क्षमता देखाउने । बालेन जनताले सोधिरहेका छन्, परिवर्तन चाहियो । परिवर्तन खोई भन्नु नपरोस् । काम गर, छिटो गर । समयले कसैलाई पर्खदैन ।
वर्षदिनमा भदौ २३ गते जेनजीलाई श्रद्धाञ्जली दिनु परिवर्तन होइन । सहादत भएका जेनजीले फूलमाला, भाषण खोजेका छैनन्, परिवर्तन देखाउन सके जेनजीको त्याग सफल भएको ठानिने छ । कुनै पनि जेनजीको दिमागमा निराशा देखिनु नपरोस् ।
चार दशकदेखि सत्तामा जुका बनेर बसेकाहरुको साम्राज्य ढाल्न सक्ने जेनजीको प्रेरणामा बालेन सरकारले परिवर्तन दिन्छ दिन्छ । स्मरणरहोस्, एक वर्षमा जेनजी आन्दोलनले सरकार परिवर्तन गरायो, अन्तरिम सरकार जन्मायो, अग्रिम निर्वाचनको बाटो खोल्यो र नयाँ राजनीतिक शक्तिलाई सत्तामा पु¥यायो । तर आन्दोलनका मूल सवाल भ्रष्टाचार नियन्त्रण, सुशासन, राजनीतिक जवाफदेहिता र राज्य सञ्चालनको शैलीमा परिवर्तन ल्याउने जवाफ पूरा भएको छैन । अग्निपरीक्षा चलिरहेको छ, सफल हुनुपर्छ । अन्यथा पुराना र नयाँमा के भिन्नता बाँकी रहन्छ र ?
७६ जना जेनजी पुस्ताले ज्यान दिएर आएको हो यो परिवर्तन । परिवर्तनको यो एकवर्षमा अन्तरिम सरकार, चुनाव र चुनावपछि बालेन सरकार देखियो । सरकार परिवर्तन हुनु ठूलो कुरा होइन, यथार्थमा जेनजीको सपना पूरा भयो कि भएन भन्ने हो ।
जन्मेपछि मान्छे मर्छन्, वर्ष वर्ष दिनमा सराध्ये गरिन्छ । पिण्डो दिइन्छ । यसको अर्थ सम्झना गरिन्छ । हामीले असल शिक्षा लियौं कि लिएनौं भन्ने हो । जेनजी पुस्ताले बिद्रोह गर्नुपर्ने कारण के के थिए ? ती जेनजीले सिकाएका र दिएका सन्देशहरू हामीले कति अमल ग¥यौं, महत्वपूर्ण प्रश्न यो हो । जेनजी पुस्ताले शिक्षा, स्वास्थ्य, आधारभूत आवश्यकताको सहज परिपूर्ति, भ्रष्टाचारको अन्त, भ्रष्टाचारीमाथि कारवाही, सुशासनको प्रत्याभूतिका लागि बिद्रोह गरेका थिए । रास्वपाले पाएको ऐतिहासिक जनादेश र बालेन साह प्रधानमन्त्री बनेको तिनै जेनजीका सपना पूरा गर्न हो । सपना कति पूरा भयो, कति पूरा हुँदैछन् । कहिलेसम्म पूरा हुनेछन् ?
जेनजी विद्रोहको कारण कुशासन र भ्रष्टाचार हो । कुशासनका खम्बाहरू प्रचण्ड, ओली, देउवा, माधव, बाबुरामहरुले सजाय पाएका छैनन् । काई बनेर रहेका भ्रष्टहरू, कुडाकरकट सफाइ गर्नुपर्ने छ । यसमा पनि काम भइरहेको छ । नतिजा आइसकेको छैन । हिजो लुकेका, भागेकाहरु आज टाउको उठाउँदैछन् । यिनले फेरि पनि डस्न सक्छन्, डस्ने क्रम नै हो, बालेनको तीब्र आलोचना ।
बिद्रोह, जेनजी पुस्ताले परिवर्तनको शंखघोष थियो । भ्रष्टाचार र कूशासन विरुद्धको जेनजी विद्रोह, यतिठूलो त्रासदीपूर्ण घटना थियो कि विश्व चकित प¥यो । सबैको प्रतिकृया थियो– अब नेपालमा सुशासन आउँछ, सभ्यता बस्छ । यी लक्ष्य हासिल गर्न बालेनको ढाडमा हाड देखिनैपर्छ ।
राजनीतिक विवादको अन्त्य, स्थिरता, सुशासन, भ्रष्टाचारको अन्त गर्न राजासहितका सबै राजनीतिक शक्तिहरुसँग संवाद, सहमति र सहकार्य गरेर संविधान संशोधन गरेर पद्धतिलाई जनजीवनमा ढाल्नैपर्छ । जनताले अपनत्व नलिएको कुनै पद्धति टिकाउ हुँदैन ।
यसकारण बालेन ढाल्न खोज्नेहरुलाई ढाल्नुपर्छ । बालेन अर्थात इमान जमान उभिनुपर्छ । देशले खोजेको परिवर्तन यही हो ।






























