सचिवमा बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस
वि.सं.२०८२ मंसिर २२ सोमवार १३:५६
shares

काठमाडौँ । सचिवमा बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस भएको छ । आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिसको समितिले तीन जनाको नाम सिफारिस गरेको हो ।
समितिले सहसचिवहरू राजेन्द्रकुमार पौडेल, कमलप्रसाद भट्टराई र इन्दु घिमिरेको नाम सिफारिस गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा शाखाले जानकारी दिएको छ । सहसचिव पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा प्रवक्ताको रूपमा कार्यरत छन् ।भट्टराई वैदेशिक रोजगार विभागमा महानिर्देशकको रूपमा कार्यरत छन् भने घिमिरे भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत छिन्। अब बस्ने मन्त्रिपरिषद् बैठकले तीन जनामध्ये एक जनालाई सचिवमा बढुवा गर्नेछ । वरिष्ठताका आधारमा सचिव बढुवा हुने भएकाले पौडेलको सम्भावना प्रबल रहेको स्रोतले जानकारी दियो ।
मङ्सिर ९ गते राति राष्ट्रिय योजना आयोगमा कार्यरत सचिव गोकर्णमणि दुवाडी र मुख्यसचिव एकनारायण अर्याल अनिवार्य अवकाशमा गएका थिए । उनीहरू अवकाशमा गएपछि मन्त्रिपरिषद् बैठकले वैकुण्ठप्रसाद अर्याललाई सचिवमा बढुवा गरेको थियो । रक्षा सचिव सुमनराज अर्याल मुख्य सचिवमा बढुवा भएका थिए ।त्यसपछि रिक्त सचिवमा तीन जना मध्यबाट एक जनालाई बढुवा गर्न सिफारिस गरिएको हो ।



































