जेन जी भन्दै धम्क्याउने शाही फेरी पक्राउ
वि.सं.२०८२ पुस १७ बिहीवार १२:०४
shares

काठमाडौं । आफूलाई जेनजी भन्दै सरकारी कार्यालयमा कर्मचारीलाई धम्क्याउँदै पुग्ने गरेका अर्जुनबहादुर शाही फेरि पक्राउ परेका छन् । उनलाई प्रहरीले काठमाडौंको ठमेलस्थित कालधाराबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।
उनलाई बैंकिङ कसुर आरोपमा प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध ११ लाखको बैंकिङ कसुर र ८ तोला बराबरको सुन ठगी गरेको आरोप छ ।शाही यसअघि पनि विभिन्न अपराधिक मुद्दामा फरार देखिएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको थियो । पछिल्लोपटक उनी काठमाडौंको कोटेश्वरबाट पक्राउ परेका थिए । पछि उनी धरौटीमा रिहा भएका थिए ।अछामको पञ्चदेवल विनायक नगरपालिका–४ घर भएका २६ वर्षीय शाहीको टोलीले नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगमदेखि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमसम्म पुगेर अनुगमन र ज्ञापनपत्रको नाममा धम्क्याएको थियो ।
उनी सहितको टोलीले नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा पुगेको शाहीको टोलीले प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको राजीनामा नै माग गरेको थियो ।प्रहरीले संकलन गरेको विवरण अनुसार, अछामको पञ्चलदेवल विनायक नगरपालिका–४ घर भएका शाहीको परिवारसँग राम्रो सम्बन्ध छैन ।






































