५ लाख रुपैयाँभन्दा धेरैको चेक साटेर नगद झिक्न नपाइने व्यवस्था,एकाउन्ट पेयी अनिवार्य
वि.सं.२०८२ पुस २५ शुक्रवार २०:३८
shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ लाख रुपैयाँभन्दा धेरैको चेक साटेर नगद झिक्न नपाइने व्यवस्था गरेको छ ।
केन्द्रीय बैंकले ५ लाखभन्दा माथिको चेक जारी गर्दा एकाउन्ट पेयी अनिवार्य गर्दै यस्तो व्यवस्था गरेको हो ।केन्द्रीय बैंक यसभन्दा अघिको १० लाखसम्मको नगद कारोबार घटाइ ५ लाखमा झारेको हो । सरकारले सम्पत्ति शुद्धीकरण न्यूनीकरण गर्न नगद कारोबारलाई १० लाखबाट ५ लाखमा घटाएको थियो ।
सोही निर्णय नेपाल राजपत्रमा प्रकाशित भए पनि केन्द्रीय बैंकले चेकबाट प्रतिपटक झिक्न सकिने नगद ५ लाख कायम गरेको हो । साथै, ५ लाखभन्दा धेरै रकम सम्बन्धित व्यक्तिको खातामा मात्रै जम्मा हुन सक्ने व्यवस्था गरेको हो ।कुनै पनि व्यक्ति वा संस्थाले हरेक पटकको कारोबार नगदमा गर्दा ५ लाखभन्दा कम र त्यसभन्दा धेरैको गर्नुपर्दा एकाउन्ट पेयी चेकमार्फत गर्नुपर्ने व्यवस्था गरेको छ ।
तर, यो व्यवस्थाले कुनै पनि परिवारले सामाजिक कार्य गर्न वा व्यापार मार्फत नगद संकलन गरेको अवस्थामा भने असर नगर्ने राष्ट्र बैंक प्रवक्ता गुरु पौडेलले बताए ।केन्द्रीय बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले ५ लाख वा त्यसभन्दा बढीको रकम भुक्तानी गर्दा अनिवार्य एकाउन्ट पेयी चेक वा सम्बन्धित व्यक्तिको खातामा मात्र भुक्तानी गर्नुपर्ने छ ।साथै फर्म, कम्पनी, संस्था वा कार्यालयका नाममा खिचिएका चेकको भुक्तानी समेत एकाउन्ट पेयी नै हुनुपर्ने छ ।
तर, कुनै निक्षेपकर्ता वा बचतकर्ताले कुनै खास कारण देखाइ नगद भुक्तानीका लागि दिएको निवेदनको बेहोरा र कारण मनासिब देखिए त्यस्तो निक्षेपकर्ता वा बचतकर्तालाई उल्लेखित सीमाभन्दा बढी नगद भुक्तानी गर्न सक्नेछन् । त्यसरी भुक्तानी दिएको मासिक विवरण अद्यावधिक गर्नुपर्ने छ ।त्यस्तै लघुवित्त वित्तीय संस्थाले पनि सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन २०६४ को उद्देश्यमा समेत सहयोग पुर्याउन ५ लाख वा त्यसभन्दा बढीको रकम भुक्तानी गर्दा अनिवार्य एकाउन्ट पेयी चेकमार्फत गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।


































