आफ्नो पार्टीको झण्डा जलाउने रास्वपाका कार्यकर्तालाई कारबाही गर्न एमालेको माग
वि.सं.२०८२ फागुन ८ शुक्रवार १४:४५
shares

नेकपा (एमाले)ले आफ्नो पार्टीको झण्डा जलाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्तालाई कारबाही गर्न माग गरेको छ।
एमाले जिल्ला कमिटी, दाङका अध्यक्ष शिवकुमार आचार्यले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी रास्वपा कार्यकर्ताको क्रियाकलापप्रति ध्यानाकर्षण भएको जनाएका छन्।‘पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अशोभनिय नारा लगाउने र देशको लोकतान्त्रिक आन्दोलन तथा जनताको बलिदानीपूर्ण इतिहास बोकेको पार्टीको झण्डा जलाउने जस्ता गतिविधि लोकतान्त्रिक संस्कार, राजनीतिक शिष्टाचार र विधिको शासनमाथिको खुला प्रहार हुन्,’ एमालेले भनेको छ।
राजनीतिक असहमति विचार, बहस र जनमतमार्फत व्यक्ति गरिनुपर्ने एमालेको भनाइ छ। ‘झण्डा जलाउने जस्ता कार्यले केवल राजनीतिक असहिष्णुता मात्रै होइन, लोकतान्त्रिक मूल्य-मान्यताप्रतिको अनादर पनि उजागर गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।यसलाई एमालेले राजनीतिक अपरिपक्वताको पराकाष्ठा भनेको छ। एमालेको भनेको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीलाई हामी जिम्मेवार राजनीतिक शक्तिको रुपमा प्रस्तुत हुन आग्रह गर्दछौँ। उग्रता र उत्तेजनाको सहारामा क्षणिक चर्चाको खोजी गर्नु राजनीतिक परिपक्वताको पराकाष्ठा मात्र हो।’
यसमा संलग्न व्यक्तिलाई कारबाही गर्न एमालेले स्थानीय प्रशासनसँग माग गरेको छ। ‘अवाञ्छित गतिविधि र समुदायलाई उत्तेजित बनाउने व्यवहार र प्रचार प्रसारको शैलीप्रति निगरानी बढाउन र स्थापित मापदण्ड अनुसार कानुनी दायरमा ल्याउन सम्बन्धित पक्षसँग नेकपा (एमाले) माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
































