रास्वपाका उम्मेदवारले मतदातालाई दिए धम्की, हामीलाई मत नदिने राष्ट्रघाती हुन
वि.सं.२०८२ फागुन ८ शुक्रवार १४:५०
shares

विराटनगर । सुनसरी-३ का रास्वपा उम्मेदवार अशोक चौधरीको विवादित अभिव्यक्तिका कारण कार्यक्रमस्थलमा तनाव भएको छ । इटहरी जेसिजद्वारा सुनसरी २ र ३ का उम्मेदवारसँग गरिएको कार्यक्रममा चौधरीले घण्टीमा भोट नहाल्नेहरू राष्ट्रघाती भएको बताएका थिए ।
मतदातालाई चेतावनी दिएपछि आक्रोशित भिडबाट चौधरीलाई जोगाउन प्रहरीले सुरक्षा दिएर कार्यक्रमस्थल बाहिर निकालेको थियो ।
बिहीबार इटहरी जेसीजले सुनसरी क्षेत्र नम्बर २ र ३ का उम्मेदवारहरूबीच आयोजना गरेको ‘ककस’ (संवाद) कार्यक्रममा उम्मेदवार चौधरीले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले देशको निकासका लागि रास्वपालाई दुई तिहाइ बहुमत दिनुपर्ने तर्क राख्दै मतदान नगर्नेलाई देशविरोधीको संज्ञा दिए ।
उनले भने- यदि तपाईं परिवर्तन चाहनुहुन्छ भने रास्वपालाई दुई तिहाइ पुर्याउन लाग्नुस् । यदि लाग्नुहुन्न भने तपाईं अस्थिर सरकार चाहिरहनुभएको छ, तपाईं देशविरोधी र राष्ट्रघाती हो ।
चौधरीले त्यति बोल्नासाथ कार्यक्रममा सहभागी युवा र अन्य दलका प्रतिनिधिहरूले आपत्ति जनाउँदै होहल्ला सुरू गरे । मतदाताको स्वविवेकलाई अपमान गरेको भन्दै सहभागीहरूले ‘घण्टी मुर्दावाद !’ को नारा लगाएका थिए ।अर्का उम्मेदवार घनश्याम गुरुङले स्टेजबाटै प्रतिवाद गर्दै भने, ‘हामी तपाईंको प्रतिस्पर्धी हौँ, के हामी पनि राष्ट्रघाती हौँ ? मतदातालाई यसरी गाली गर्ने अधिकार कसले दियो ?’
अन्य उम्मेदवारहरूले पनि लोकतान्त्रिक प्रतिस्पर्धामा अलोकतान्त्रिक भाषा प्रयोग हुनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका थिए । नाराबाजी र विरोधका कारण कार्यक्रम केहीबेर अवरुद्ध बन्यो । स्थिति नियन्त्रण बाहिर जान सक्ने र भौतिक आक्रमण हुन सक्ने जोखिम बढेपछि त्यहाँ तैनाथ प्रहरी टोलीले उम्मेदवार चौधरीलाई सुरक्षा घेराभित्र राखेर बाहिर निकालेको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका राजीव कोइराला, नेकपा (एमाले) का सुजन लामा, नेकपाकी रामकुमारी चौधरी लगायतका उम्मेदवार उपस्थित थिए ।






































