किन उडाइयो पशुपतिनाथको मूल्य मन्दिर माथि ड्रोन, सुरक्षाकर्मीहरू मुखदर्शक किन?
वि.सं.२०८२ फागुन १५ शुक्रवार १९:२०
shares

काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा शुक्रबार बिहान साढे १० बजेतिर एउटा ड्रोन देखा पर्यो । उक्त ड्रोनले बिना अनुमति पशुपतिनाथको मूल मन्दिरसहित मन्दिरपरिसर, बागमती नदी, हंसमण्डप क्षेत्र, कैलाश डाँडा तथा मूल मन्दिरसमेत देखिने गरी घुमिघुमी भिडिओ एवम् तस्वीर लिइरहेको थियो ।
अनधिकृत ड्रोन पशुपतिमाथि उडिरहेको सुरक्षामा खटिएका नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले पनि देखे । तर, उनीहरू अब के गर्ने भन्ने अन्योलमा परे । नेपाल प्रहरीका एकजना सुरक्षाकर्मीले सिनियरलाई जानकारी गराउन बारम्बार फोन गरिरहे तर फोन उठेन । ड्रोन मूल मन्दिरसहित परिसरमा दश मिनेट भन्दा बढी उडिसकेको थियो ।अन्ततः सुरक्षार्थ खटिएका प्रहरी र सेनाले ड्रोन झार्ने निर्क्योल गर्छन् र गन मगाउँछन् । तर पर्याप्त भिडिओ एवम् तस्वीर खचिसकेको ड्रोन मित्रपार्क क्षेत्रमा कतै ल्याण्ड गर्छ । उक्त ड्रोन कसले उडायो भन्ने न सुरक्षाकर्मीलाई थाहा भयो न त अन्यलाई । आसपासका कुनै होटलबाट ड्रोन उडाइएको हुनु सक्ने सुरक्षाकर्मीले बताए । सुरक्षाकर्मीसँग ड्रोन खसाल्ने गन समेत थिएन । त्यसमाथि माथिको आदेश कुर्नुपर्ने । बाहिरबाट गन मगाउनुपर्ने, माथिको आदेश कुर्नुपर्ने कारण ड्रोन सहजै उम्किन सफल भयो ।
पशुपति जस्तो संवेदनशिल क्षेत्रमा बिना अनुमतिका ड्रोन खसाल्ने गनसमेत सुरक्षाकर्मीसँग नहुनु लज्जास्पद र लापरवाही भएको सरोकारवाला बताउँछन् ।नियम विपरीत ड्रोन उडाएको खण्डमा नागरिक उड्डययन प्राधिकरण ऐन तथा विद्युतीय कारोबार ऐन अनुसार कारबाही हुनसक्छ । अनुमति नलिई ड्रोन उडान गरेको खण्डमा अनधिकृत ड्रोन जफत गरिने व्यवस्था ड्रोन सम्बन्धी कार्यविधिमा छ ।
साथै ड्रोन उडानबाट कुनै व्यक्तिको गोपनीयताको हक हनन् भएको खण्डमा वा वैयक्तिक रूपमा क्षति पुगेको भए पीडित पक्षको निवेदनमा कानुन अनुसार कारबाही हुन सक्छ । यसका साथै निषेधित क्षेत्रमा ड्रोन उडाए जफत हुने र धनी अथवा पाइलट कानुनी कारबाहीमा पर्न सक्छन् ।
































