अबदेखी अमेरिकी डलरमा राष्ट्रपतिको हस्ताक्षर रहने, १८६१ देखीको परम्परा तोडियो
वि.सं.२०८२ चैत १३ शुक्रवार ११:१४
shares

अमेरिकी अर्थ मन्त्रालय (यूएस ट्रेजरी) ले भविष्यमा छापिने अमेरिकी डलरका नोटहरूमा राष्ट्रपति र अर्थमन्त्रीको हस्ताक्षर रहने घोषणा गरेको छ। जसअनुसार अब बहालमा रहुन्जेल राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्थमन्त्री स्कट बेसेन्टको हस्ताक्षर रहने छ।
अमेरिकी इतिहासमा पहिलो पटक बहालवाला राष्ट्रपतिको हस्ताक्षर आधिकारिक मुद्रामा देखिन लागेको हो।
यसअघि डलर नोटहरूमा अमेरिकी ‘ट्रेजरर’ (कोषाध्यक्ष) को हस्ताक्षर रहने परम्परा थियो। सन् १८६१ देखि चलिआएको उक्त परम्परालाई तोड्दै पहिलो पटक ट्रेजररको हस्ताक्षर हटाइएको हो।रोयटर्सका अनुसार, ट्रम्पको हस्ताक्षर भएको पहिलो १०० डलरको नोट आगामी जुन महिनादेखि छापिन सुरु हुनेछ।
अर्थ मन्त्रालयले सन् २०२६ मा अमेरिका स्थापना भएको २५०औँ वार्षिकोत्सवको सम्मानमा यो परिवर्तन गरिएको जनाएको छ। अधिकारीहरूले यस कदमलाई ट्रम्पको नेतृत्व र राष्ट्रको आर्थिक शक्तिको सम्मानको रूपमा व्याख्या गरेका छन्।यद्यपि, यो निर्णयले सामाजिक सञ्जालमा ठूलो बहस र ध्रुवीकरण निम्त्याएको छ। कतिपय आलोचकहरूले यसलाई ट्रम्पको स्व-प्रवर्द्धन र अहंकारको पराकाष्ठा समेत भनेका छन्।
केही आर्थिक विज्ञहरूले भने यसले डलरको विश्वव्यापी साख र संस्थागत स्वतन्त्रतामा प्रश्न उठाएको बताएका छन्। डलरलाई विश्वको रिजर्भ एसेटका रूपमा विश्वास गरिँदै आएकोमा यस्तो राजनीतिकरणले उक्त विश्वास कमजोर पार्ने तर्क उनीहरूको छ।



































