विश्वकप २०२६ को हुने फाइनल नि:शुल्क प्रत्यक्ष प्रसारण एनटीभी बाट हुने
वि.सं.२०८३ साउन ३ आइतवार ११:४४
shares

काठमाडौं । नेपाली फुटबल समर्थकले फिफा विश्वकप २०२६ को फाइनल खेल निःशुल्क रूपमा हेर्न पाउने भएका छन् ।
नेपाल टेलिभिजनको एनटीभी प्लस च्यानलले आज राति हुने विश्वकपको उपाधि भिडन्त प्रत्यक्ष प्रसारण गर्ने भएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको फाइनल खेल अतिरिक्त शुल्कबिनै एनटीभी प्लसबाट प्रत्यक्ष हेर्न सकिने बताएका छन् ।
यस निर्णयसँगै पे–टिभी वा अन्य सशुल्क प्लेटफर्ममा निर्भर हुनुपर्ने बाध्यता हट्ने भएको छ । देशभरका फुटबलप्रेमीले सरकारी टेलिभिजनमार्फत सहज रूपमा विश्वकपको निर्णायक खेलको रोमाञ्च लिन सक्नेछन् । यसअघि तेस्रो स्थानका लागि फ्रान्स र इंग्ल्यान्डबीच भएको खेल पनि एनटीभी प्लसले निःशुल्क प्रत्यक्ष प्रसारण गरेको थियो । त्यसको निरन्तरतास्वरूप अब फाइनल खेल पनि सार्वजनिक पहुँचमा ल्याइएको हो ।
विश्वकपको फाइनलप्रति नेपाली दर्शकमाझ विशेष उत्साह देखिएको बेला सरकारी प्रसारण संस्थाको यो निर्णयले ठूलो संख्यामा फुटबल समर्थकलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ ।




































