कोलकाताबाट वीराटनगर सम्म कार्गो रेल सेवा सुरू, अव २४ घण्टामै सामान आउने
वि.सं.२०८३ साउन ६ बुधवार ०९:५२
shares

काठमाडौं । उद्घाटन भएको करिब ३ वर्षपछि भारतबाट विराटनगरस्थित एकीकृत जाँच चौकीसम्म कार्गो रेलको सेवाको औपचारिक रूपमा शुभारम्भ गरिएको छ ।
भारतको कोलकाताबाट कच्चा पदार्थ बोकेको विराटनगरमा आएसँगै मङ्गलवार दुवै देशका अधिकारीहरूले एक कार्यक्रमकाबीच कार्गो रेलको सेवाको औपचारिक रूपमा शुभारम्भ गरेका हुन् ।तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २०८० साल जेठ १८ गते उद्घाटन गर्नु भए यता कार्गो रेल विराटनगर आउन सकेको थिएन ।
मोरङको नेमुवा स्थित स्वस्तिक आयल इण्डष्ट्रिजले मगाएको तोरी बोकेका ४० वटा कन्टेनर बोकेको कार्गो रेल नेपाल भन्सार यार्ड सम्म आएपछि सुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योगी व्यवसायीहरू उत्साहित भएका छन् ।कार्गो रेलबाट ढुवानी गर्दा ढुवानी लागत २५ देखि ३० प्रतिशत घट्ने, कोलकाता बन्दरगाहबाट विराटनगर सम्म २४ घण्टामा सामान आइपुग्ने र बाटोमा सामान चोरी हुने समस्या निराकरण हुने भएकाले अन्य क्षेत्रका उद्योगहरूसँग प्रतिस्पर्धा गर्न सहज हुने यस क्षेत्रका उद्योगी व्यवसायीहरूले बताएका छन् ।
भारत सरकार अन्तर्गतको कन्कोर अर्थात् कन्टेनर कर्पोरेशन अफ इण्डिया लिमिटेडको कार्गाे रेलबाट सोमवार एनसिवाई अर्थात् नेपाल कस्टमयार्डसम्म ४० वटा कन्टेनर बोकेका मालवाहक रेल आएको थियो ।कन्कोरका प्रतिनिधि सञ्जीव साहले हप्तामा दुई दिन कोलकाताबाट विराटनगर सम्म कार्गो रेल सञ्चालन गर्ने र यसलाई आवश्यकता अनुसार बढाउँदै लैजाने जानकारी दिए ।पारवहन सन्धिको प्रोटोकल संशोधन पछि विराटनगरको एकीकृत जाँच चौकी स्थित नेपाल कस्टम यार्ड सम्म कार्गो रेल आएको हो ।
कार्गो रेल सञ्चालन पछि विराटनगर आएको कन्टेनर खाली फर्कने भएकाले यहाँबाट वस्तु निर्यातमा पनि सहजता आउने उद्योगी व्यवसायीहरूले बताएका छन् ।




































