फेसबुकमा स्टाटस र गाली गलौजाको राजनीति प्रधानमन्त्रीबाटै अन्त्य हुनुपर्दछ
वि.सं.२०८३ भदौ ११ बिहीवार ११:४१
shares

२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते मुलुकभरमै भएको विध्वसात्मक कार्यपछि पुराना भनिएका दलहरुले नेतृत्व गरेको सरकार ढलेको थियो । भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शनलाई पर्दा पछाडि बसेर केही राजनीतिक दल र केही व्यक्तिहरुले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गरेका थिए । भाद्र २३ गते काठमाडौमा र इटहरीमा गोली चल्यो त्यही गोलीका कारण काठमाडौमा १९ इटहरीमा २ जनाको गरी २१ जनाको निधन भयो । त्यही कारणलाई देखाएर भाद्र २४ गते मुलुकभरमै विध्वसात्मक कार्य भयो भनिएतापनि वास्तवमा त्यो निष्कर्षकमा पुग्न गलत रहेको छ । पुराना भनिएका राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीहरु भाद्र २३ र २४ गतेको घटनामा सहभागि थिएनन् । मुलुकभरमा यिनै तीन पार्टीका मात्र संगठन भएका हुनाले उनीहरुको सहयोग विना नै त्यत्ति ठुला घटनाहरु घट्नु सामान्य विषय होइन र हुन सक्दैन ।
भाद्र २३ गतेको घटनामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा रास्वपा सहितका अन्य केही दल र उनीहरुका नेता तथा कार्यकर्ताहरु संलग्न रहेका थिए भन्ने प्रमाण त रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी सम्बन्धी अदालतको आदेशमा पुर्पक्षका लागि जेलमा रहेका थिए । तर तिनै लामिछानेलाई भिडले जेलमुक्त गराएको थियो । २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन गर्न हालका गृहमन्त्री सुधन गुरुङले भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शनमा आफू पानी बाँड्न मात्र आएका नेता नभएको बताएका थिए तर वास्तविक त्यस्तो थिएन भने अहिले प्रमाणित भएको छ । भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शनलाई देखाएर विध्वसात्मक कार्य भयो भने भाद्र २४ गते एकै दिनमा सिंहदरबार, सर्बोच्च अदालत, संसद भवन, राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको सरकारी निवास लगायत पुराना भनिएका राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रका कार्यालयहरु र शिर्ष नेताहरुका निजी निवासमा आगजनी भयो ।
के यी सबै कार्य एकै दिनको विरोध प्रदर्शनमा सम्भव भएका हुन् त ? भाद्र २४ गते भएका सिंहदरबारको आगजनी पछि बल्ल प¥यो माकुरी जालैमा भन्दै नाच्ने को थिए त ? अनि देखिस् ओली सिंहदरबार जलाईदियौँ भन्ने को थिए ? अनि तत्कालिन काठमाडौ महानगरका मेयर बालेन साहले त आफ्नी श्रीमती सवार गाडीलाई प्रहरीले चेकजाँच गर्दा सिंहदरबारमा आगो लगाई दिन्छु भन्ने स्टाटस नै लेखेका थिए । भाद्र २३ र २४ गतेको विध्वसात्मक कार्यमा सरिक भएकाहरु अहिले प्राय सबै रास्वपामै प्रवेश गरेर केही मन्त्री भएका छन् भने केही सांसद रहेका छन् । बालेन साह त प्रधानमन्त्री नै बनेका छन् । यी तथ्यहरुले भाद्र २३ र २४ गतेको विध्वसात्मक कार्य गराउनेहरु नै अहिले सत्तामा रहेकाले उनीहरुले आफ्नो पोल खोलिने डरले भाद्र २३ र २४ गतेको विध्वसात्मक कार्यको अनुसन्धान र छानविन नै गराउन चाहेका छैनन्÷चाहाँदैनन् भन्ने प्रष्ट भएको छ ।
भाद्र २३ र २४ गतेको जगमा टेकेर २०८२ फागुन २१ गते संसदको निर्वाचनमा रास्वपाले झण्डै दुई तिहाई मत ल्याएको छ । त्यो मत भनेको डरको धम्कीको मत हो । त्यही निर्वाचनको बलमा र भाद्र २३ र २४ गतेको घटनाको बलमा बालेन साह प्रधानमन्त्री बनेका हुन् । २०८२ चैत्र १३ गते बालेन साह प्रधनमन्त्रीको कुर्सीमा बसेको पहिलो घण्टामा नै उनले प्रतिशोधको राजनीतिको सुरुवात गरेर पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने निर्णय गरेका थिए । त्यही दिनदेखि बालेन साहले प्रतिशोधको र गाली गलौजको राजनीति सुरु गरेका हुनाले पछिल्लो समयमा सत्ताधारी दलका सांसदहरु र नेताहरु समेत त्यस्तै प्रकारको राजनीतिमा उत्रिएका छन् । प्रधानमन्त्रीबाटै प्रतिशोधको राजनीति, गाली गलौजको राजनीति भएको हुनाले अब प्रधानमन्त्रीबाटै त्यस्तो कार्यको अन्त्य गरी चाहे पुराना हुन् चाहे नयाँ राजनीतिक दलहरु नै किन नहुन् । उनीहरुको विश्वास जितेर निष्ठाको राजनीति हुनुपर्दछ ।
संसारका कुनैपनि लोकतान्त्रिक मुलुकमा नयाँ शक्तिको उदय हुनु र पुराना दलहरुले चुनौतीको सामना गर्नु एक स्वाभाविक प्रक्रिया भएपनि हामीकहाँ भने नयाँ भनिएको रास्वपा र उसको नेतृत्वको सरकारले प्रतिशोधको र गालीगलौजको राजनीति सुरु गरेको हुनाले त्यसलाई किमार्थ उचित लोकतान्त्रिक अभ्यास भनि स्वीकार गर्न सकिँदैन । तसर्थ अब स्वयम् प्रधानमन्त्री बालेनले नै प्रतिशोधको राजनीति र गालीगलौजको राजनीति त्यागेर निष्ठा र इमान्दारिताको राजनीति गर्न उपर्युक्त हुनेछ । नत्र भने हिजो आफैँले सिकाएको खेल अरुले पनि सुरु गर्न सक्छन् भन्ने हेक्का प्रधानमन्त्री बालेन र रास्वपालाई होस् । हिजो राज्यको महत्वपूर्ण संयन्त्रहरु चुपचापस बसे भन्दैमा जहिल्यै त्यस्तो अवस्थामा रहँदैन । राज्यका महत्वपूर्ण संरचनाहरु कुनै एक दलको पेवा होइन् उनीहरु मुलुकका संरचना र जनताको सेवाका लागि गठन भएका हुन् भन्ने हेक्का सबैलाई होस् भन्ने हाम्रो ठहर रहेको छ ।
































