सपना सबै बगायो भोटेकोशी बाढीले
वि.सं.२०८३ भदौ ११ बिहीवार ११:३९
shares

भदौ १० गते, रसुवा, भोटेकोशी बाढीले समृद्ध नेपाल, शान्त नेपाल, सुशासन सबै बगायो । रसुवा, नुवाकोट, गोरखा, धादिङ बजारलाई बगर बनाइदियो । सरकारमाथि होइन, देशैमाथि भयानक मानवीय संकट आइपरेको छ । आजैका दिन प्रधानमन्त्री बालेन साह संसदमा उभिएर संसदहरुले महिनौंदेखि उठाएका प्रश्नहरुको जवाफ दिन तैयार भइरहेका थिए । एकाएक साँढे ९ नबज्दै बाढीको मृत्युघण्ट बज्यो । सिंगो सरकार बाढीबाट उत्पन्न महाविपत्तिलाई सामना गर्न जुट्न थाल्यो । एकीसमयमै नेपालमा आएको महाविपतको घटना विश्वव्यापी बन्यो ।
भारत, चीन, युरोपियन युनियनले के कस्तो सहयोग चाहियो भनेर प्रधानमन्त्रीसँग वार्ता गरे । २०७२ को महाभूकम्पभन्दा पनि डरलाग्दो भोटेकोशे बाढीले कति धनजनको क्षति भयो भन्ने अनुमान गर्न कैयौं दिन लाग्नेछ । खरवौंको सम्पत्ति बगेर गयो, बगर बन्यो । पुननिर्माण गर्न दशकौं लाग्नेछ । नेपालको विकास फेरि धेरै टाढाको विषय बन्नपुग्यो ।
प्रधानमन्त्रीले विपतमा परेका, शोकमा परेका, पीडावोधमा रहेका सबैलाई आश्वासन दिएका छन्– तपाईहरु एक्लो हुनुहुन्न । सरकार तपाईहरुको साथमा छ ।
राम्रो कुरा के भयो भने प्रधानमन्त्री बालेन साहको राजीनामा मागिरहेका, राष्ट्रघाती भनिरहेका सबै राजनीतिक पार्टीहरु सरकारका साथमा उभिएका छन् । सबै मिलेर यो बाढीबाट उत्पन्न महाविपतसँग जुध्न एकढिक्का भएका छन् । जब जब देशमाथि, जनतामाथि महाविपत आउँछ, नेपालका राजनीतिक शक्तिहरु एक ढिक्का हुन तैयार हुनेगर्छन् ।
नेपाल भूराजनीतिको भूमरीमा परेर कता लाग्ने, के गर्ने भन्ने द्विविधिमा थियो । नेपाल दुई महाशक्ति भारत र चीनवीचको जिवन्त साँघु हो नेपाल । रास्वपा र प्रम बालेनले सम्बन्धमा सुधार गर्न नसकेको र राष्ट्रघात गरेको भनेला महिनौंदेखि यो साँघु भूराजनीतिमा ठक्कर खाँदै महाशक्ति निर्भर हुनपुगेको भाष्य परम्परागत पार्टीहरू नेपाली कांग्रेस, एमाले, नेकपाले प्रचार गरिरहेका थिए । शीतयुद्धका समयमा नेपालले असंलग्न परराष्ट्रनीति अपनायो, त्यही अनुसारको आफ्नो परिचय बनायो । सन्तुलनको नीतिले नेपाललाई स्वराज कायम गर्न सघायो पनि । महाशक्तिहरू पनि नेपालको सन्तुलनमै थिए । समयक्रममा २०४६ सालमा बहुदल पुनस्र्थापना भयो र नेपाली दलहरू भारतनिकट हुनपुगे । प्रजातन्त्रवादीसँगसँगै कम्युनिष्टहरू पनि जाज्वल्यमान हुँदै गए र चरमपन्थी र नरमपन्थी कम्युनिष्टहरूको शासन बेहोर्दै चीनतिर बढी ढल्कन पुग्यो । बालेन सरकारमाथि पश्चिमा प्रभाव र दबाब रहेको र उतैको शरणमा परेको आरोप विपक्षीहरूले लगाएता पनि यो सरकार कतातिर ढल्केको भनेर कसैले पनि अहिलेसम्म प्रष्ट पार्न सकेका थिएनन् । आन्तरिक राजनीति र बाह्य विदेशनीतिमा नेपाल नसम्हालिदै भोटेकोशी बाढी आएर नेपाललाई अस्तव्यस्त पारिदिएको छ ।
यो प्राकृतिक विपतको बज्रपात हुँदा मानौं, नेपाल आश्चर्यजनक पीडामा छ । नेपाल सनन्न हुनपुगेको छ । नेपाल अक्क न बक्क भएको छ ।
विश्व प्रगतिको, सामरिक शक्तिको प्रतिस्पर्धामा छ । त्यो प्रतिस्पर्धाको मल्लयुद्ध गर्ने मैदान नेपाल बन्दै छ । यो शताब्दीमा अमेरिका, चीन, भारत र युरोपियन युनियन तथा रूसजस्ता शक्तिहरूका सामु नेपाल भूमिका र अस्तित्वगत संकटको जालोमा फस्दै गएको देखिन्छ । चीनको बीआरआई, अमेरिकाको एमसीसीजस्ता योजनालाई नेपालले नकार्न सक्ने थिएन, नकारेको पनि छैन । नेपाल न भारत विरूद्ध चीनलाई, न चीन विरूद्ध भारत अथवा अमेरिकालाई आमन्त्रण गर्न सक्छ ? केही विज्ञहरू त, एउटा महाशक्तिसँग आर्थिक सम्बन्ध बिस्तार गर्ने र अरूसँग सुरक्षा र सन्तुलन कायम गर्ने चातुर्यता चाहिने बताइरहेका छन् । नेपाल भने राजनीतिक विवादमै छ । यही विवादको टुङ्गो नलाग्दै रसुवा, भोटेकोशी बाढी आयो, त्रिशूली नदीले ताण्डव नृत्य देखायो । नेपाली जनजीवनलाई तहसनहस पारिदियो ।
पहिलोपल्ट सत्ता परिवर्तन भएको थियो । बुढो पुस्तालाई जनताले किनारा लगाएर युवापुस्ताको काँधमा जिम्मेवारी सुम्पेका थिए । ऐतिहासिक रूपमा एउटै पार्टीले बहुमत हासिल गरेको थियो । स्थिरता, विकास, शान्ति र सुशासनका लागि ठूलो अवसर हो तर असफल भइसकेका पार्टीहरू जनादेश प्राप्त पार्टीलाई काम गर्न जसरी पनि अल्झाउने मनस्थितिमा देखिनु नेपालको दुर्भाग्य हो । पुरानाले नयाँलाई हातेमालो गरेको भए नेपाल अगाडि बढ्न र प्रजातन्त्र र जनअसन्तुलन सबै संवोधन गर्न सकिने थियो, जुन अभाव भयो भनिरहेका बेलामा प्रकृतिले नेपाललाई फेरि भुइँमै थचारिदिएका छन् । नेपालले समृद्धीको सपना देख्न अझ लामो समय कुर्नुपर्ने भएको छ ।
नयाँ पुस्ताका काँधमा बगर बनेको जनजीवनलाई लयमा फर्काउने जिम्मेवारी आइपरेको छ । जनतासँग सरकार छ भन्ने विश्वास दिलाउनुपर्ने समय आएको छ । यो दायित्व निर्वाह गर्नु राजनीतिक शक्तिहरुका सामु फलामको च्यूरा चपाएजस्तै चुनौती छ ।
विज्ञ ठानिएका दक्षिण एसियाका ज्ञाताहरूका अनुसार यो क्षेत्रका राजनीतिक सीमाहरू उपनिवेशवादी विरासत मान्छन् । यद्यपि नेपाल अमेरिकाभन्दा पनि जेठा राष्ट्र हो र कहिले पनि कुनै मुलुकको उपनिवेश भएको थिएन । तर उपनिवेशको दबदबाको इतिहास भएको दक्षिण एसियाका प्रभाव त नेपालमा पर्छ पर्छ । परेको छ । जसको दुर्नियति नेपालले भारत स्वतन्त्र भएदेखि नै भोग्दै आएको दुःख हो । यसपल्टको बाढी प्रकोपले नेपाललाई फेरि विश्वसामु हात फैलाउनै पर्ने स्थितिमा ल्याइपु¥याएको छ । साधन, स्रोधको कमीले नेपालले खरवौंको क्षतिको भरताल गर्न, पुननिर्माण गर्न मुस्किल छ ।
नेपालले विश्वजगतसँग भाइचारा कमाएको छ । यहीकारण विश्वले नेपालको विपतमा साथ र सहयोग गर्न हात बढाएका छन् । ती सहयोगलाई सही तरिकाले उपयोग गर्न सरकारले सक्नैपर्ने छ । सक्छ भन्ने विश्वास सबैले लिएका छन् ।
कसरी नेपाललाई बसमा पार्ने भनेर छिमेकी मात्र होइन, विश्वशक्तिहरु शक्तिको राडारले नेपाललाई हेरिरहेका छन् । भारत र चीनसँग नेपालको राजनीतिक, सांस्कृतिक, सभ्यतागत सम्बन्धको निरन्तरता छ । तथापि भारत स्वतन्त्र भएपछि भारतका मेलिट्री साइन्सका विज्ञहरूले नेपाललाई भारतमा १९५० मै नमिलाएर ठूलो भूल गरेको लेखेका छन् । छिटोभन्दा छिटो त्यो भूल सच्याउनु पर्ने पनि बताएका छन् । सम्भवतः त्यही नीतिअनुसार भारतले नेपालमाथि व्यवहार गर्दै आएको छ । यस्तो खतरालाई निस्तेज पार्नकै लागि युवाशक्ति जुर्मुराएका बेलामा युवाशक्तिलाई विवस पार्न प्राकृतिक प्रकोप झेल्नुपरेको छ । तथापि नेपाली रगतमा राष्ट्रवाद यति बलियो छ कि नेपाली स्वराज झुक्दैन, झुक्न सक्दैन । मैत्रीभाव र देशभक्तिभावका साथ नेपालीत्वको जगेर्ना गर्न र यो पीडालाई शक्तिमा बदल्न सक्नेछ ।
विश्वको शक्तिचक्र समयअनुसार बदलियो, राजनीतिक र कूटनीतिक धार पनि बदलिदै गएका छन् । सम्बन्ध र राष्ट्र राष्ट्रवीचको आत्मीयताका आधारहरू पनि परिवर्तन भएका छन् । नेपाललाई समयले शोकसँग जुध्न यक्ष प्रश्न खडा गरेको छ । यो समयमा राष्ट्र बचाउन, जिवन्त पार्न कारिगरीता आवश्यक छ । सम्भवतः नेपाली जनताले चुनावमा पुराना पुस्ताका नेतृत्वलाई किनारा लगाएर नयाँ नेतृत्व त्यही आवश्यक कारिगरिताका लागि चयन गरेको हुनसक्छ । नयाँ पुस्ताको नयाँ सोच र नयाँ युगको आवश्यकताअनुसारको नीति परिपूर्ति हुनसक्छ । चुनावमा, राजनीतिमा, नेतृत्वमा परिवर्तन आएको छ, राज्यकलामा पनि परिवर्तन देखिनैपर्नेछ । युवापुस्तामा ढाडमा हाड छ भन्ने प्रमाणित गर्ने परीक्षाको समय हो यो ।
२०४६ सालपछि मैनबत्ती पग्लेजसरी पग्लेको नेपालको व्यक्तित्व अहिले आएर अमेरिकी राष्ट्रपति डानाल्ड ट्रम्पले खुलेआम फ्रडहरूको देश भनेर आक्षेप लगाएका छन् । हुन पनि नेपाली नेताहरूले भुटानी शरणार्थी बनाएर पनि नेपालीलाई बेचेको घटनाले त्यो आक्षेप सही मान्नुपर्ने छ । नेपाल अपराधशालाजस्तो बनाउने पनि बिगतकै बहुदलीय र गणतन्त्रका नेताहरू नै हुन् । लोकतन्त्रलाई लूटतन्त्र बनाएकाले पनि नेपालको विश्वमा इज्जत घट्दै घट्दै जानुको अर्को कारण हो । न्यजिलेण्डका एक मन्त्री नेपाल भ्रमणमा आएर फर्कदा भनेका थिए, नेपाल स्वर्गको एक टुक्रा हो । नेपालमा सबै छ, इमान छैन । नेताहरूमा नीति र सिद्धान्त छैन । नेपाली नेताहरूले इच्छाशक्ति देखाउने हो भने नेपाल विश्वको केन्द्रविन्दु बन्नसक्छ । यही उद्देश्य लक्ष्यमा राखेर युवापुस्ताले प्राकृतिक प्रकोपबाट बच्नु र उत्रनु छ ।
नेपाली एक हौं, एक भएर यो विपदबाट मुक्ति खोजौं ।
































