चिकित्सक संघद्धारा आज १३ गते पनि आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने
वि.सं.२०८३ साउन १३ बुधवार ०९:४३
shares

काठमाडौं । नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडका दोषीमाथि कारबाही गर्न सरकार उदासीन बनेको भन्दै आज पनि देशभरका सबै अस्पतालमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने जनाएको छ ।
संघले यसअघि हिजो मंगलबार पनि देशभरका सबै अस्पतालमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरेको थियो ।संघले घटना भएको चार दिन बितिसक्दा पनि दोषीविरुद्ध कानुनबमोजिम मुद्दा दर्ता गरी कारबाही नगरेको, पीडित चिकित्सक तथा स्वास्थ्यकर्मी माथि नै अन्याय गरिएको तथा वार्तामा गएका चिकित्सकमाथि पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले दुर्व्यवहार गरेको आरोप लगाएको छ ।
संघले यसलाई अत्यन्त लज्जास्पद र दुःखद अवस्था भएको जनाएको छ ।संघका अनुसार घोषित कार्यक्रमअनुसार आज पनि देशभरका सबै अस्पतालमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरिनेछ ।त्यसैगरी, बिहान १० बजे काठमाडौं उपत्यकाभित्र कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरू माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गर्ने संघले जनाएको छ ।
काठमाडौं उपत्यकाबाहिरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले भने सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने, साथै आफू कार्यरत स्वास्थ्य संस्थामा धर्ना दिई विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ ।






































