अहिलेकै अवस्थामा एमालेमा नेतृत्व परिवर्तन सम्भव होला ?
वि.सं.२०८३ भदौ १२ शुक्रवार ०८:२२
shares

काठमाडौ । संघीय संसदको तेस्रो ठुलो दल नेकपा एमालेभित्रको नेतृत्व पुर्नगठनको मुद्दा प्रक्रियागतमा असहज देखिएको छ । पार्टी पुर्नगठनको लागि विधान महाधिवेशन र महाधिवेशन प्रतिनिधि परिषद्मा जान केन्द्रीय कमिटीले निर्णय गर्नुपर्ने हुन्छ ।
पछिल्लो समयमा पार्टी अध्यक्ष केपी ओलीलाई अध्यक्ष पद त्याग्न पार्टीका वरिष्ठ नेताहरुले नै दवाव दिँदै आएका छन् । यहाँनेर प्रश्न उठ्न सक्छ के पार्टी भनेको अध्यक्ष मात्र हुन् कि सिंगो कमिटी नै हो ? पार्टीको नेतृत्व महाधिवेशनबाट नै निर्वाचित भएको हुनाले नेतृत्वलाई हटाउन पनि महाधिवेशनले मात्र सक्छ । पार्टीका अन्य नेताहरु समेत महाधिवेशनबाटै निर्वाचित भएका हुनाले पार्टीले गरेका राम्रा र नराम्रा कामको जिम्मेवारी नेतृत्वले मात्र होइन सिंगो कमिटीले नै लिनुपर्दछ ।
पार्टी पुर्नगठन कि पुर्नजागरण भन्ने विषय कुनै व्यक्तिको इच्छामा नभएर केन्द्रीय कमिटीले निर्णय गर्ने विषय भएकाले अहिले पार्टी पुर्नगठन भन्ने मुद्दालाई उचालि रहनुको कुनै औचित्य देखिँदैन । मुलुक संकटतर्फ धकेलिरहेको अवस्थामा पार्टी जनतासामु गएर जनतालाई आफ्नो पक्षमा पार्दै जनतालाई जागरुक बनाउनुको सट्टा नेतृत्व फेर्ने बहस चलाउनु कुनै हालतमा पनि एमालेका लागि हितकर हुन सक्दैन ।
जुनसुकै पार्टीमा पनि केन्द्रीय समितिको निर्णय नै सर्वमान्य हुने भएकाले अब नेकपा एमालेले केन्द्रीय समितिको बैठक बोलाएर सो बैठकबाटै निर्णय लिनु उपर्युक्त हुनेछ । अहिलेको नेतृत्वलाई पाखा लाएर केही व्यक्तिहरुले आफ्नो स्वार्थ पूरा गर्न खोजेपनि एमालेमा अवको नेतृत्व को हो ? भन्ने टुँगो छैन । एमालेका पदाधिकारीहरुभित्र एकमत हुन नसकेको र एकले अर्कोलाई विश्वास गर्न सक्ने अवस्था नदेखिएकोले मुलुक र जनताको हितका लागि एमालेले नेतृत्वको विवाद गर्नुभन्दा जनताकहाँ पुगेर जनतालाई जागरुक बनाउँदै अर्को निर्वाचनमा बहुमत ल्याउने कार्यलाई प्राथमिकतामा राखेर अघि बढ्नु नै उपर्युक्त विकल्प हुनसक्छ ।
एउटा निर्वाचनमा पराजित हुँदैमा पार्टी समाप्त हुँदैन भन्ने प्रमाण त पुराना भनिएका कांग्रेस, एमालेले पहिला पनि प्रमाणित गरिसकेका छन् । २०६० सालमा भएको निर्वाचनमा कांग्रेस, एमाले कहाँ पुगेका थिए तर २०७९ मा भएको निर्वाचनमा उनीहरु जुरुक्कै उठेका थिए । त्यही कारणले गर्दा एक पटकको निर्वाचनमा पराजित भएको अवस्थालाई मध्यनजर गर्दै अर्को निर्वाचनमा जुरुक्कै उठ्ने मार्गतर्फ उन्मुख हुनुको सट्टा अहिले नेतृत्व परिवर्तन गर्न लाग्नु भनेको आफ्नै खुट्टामा बञ्चरो प्रहार गर्न सरह हुन सक्छ । अहिले एमालेमा नेतृत्व लिने कसले खोई नेतृत्व तयार गरेको त्यसैले नेतृत्व हटाउने कार्य तत्काल बन्द गरेकै राम्रो ।



































