प्रधानमन्त्री बालेनले कालो चस्मा लगाउनु पर्ने कारण सहितको स्वास्थ्य रिर्पोट संसद सचिवालयमा पठाईयो
वि.सं.२०८३ भदौ ९ मंगलवार १३:१५
shares

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले संसद् बैठकमा कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य परीक्षण रिपोर्टसहितको औपचारिक पत्र संघीय संसद् सचिवालयमा दर्ता भएको छ।
संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार स्वास्थ्य समस्याका कारण प्रधानमन्त्रीले चस्मा प्रयोग गर्नुपर्ने प्रमाणित रिपोर्ट सचिवालयमा प्राप्त भएको पुष्टि भएको हो। यसअघि सभामुख डोलप्रसाद अर्याल (डीपी) ले संसद् बैठकभित्र कालो चस्मा नलगाउन दलका प्रमुख सचेतक र सचेतकमार्फत सांसदहरूलाई आग्रह गर्दै अनिवार्य प्रयोग गर्नुपर्ने अवस्था भएमा आधिकारिक स्वास्थ्य परीक्षण रिपोर्ट पेस गर्नुपर्ने नियम स्मरण गराएका थिए। सोही निर्देशनअनुसार प्रधानमन्त्री शाहको तर्फबाट स्वास्थ्यसम्बन्धी आवश्यक कागजात सचिवालयमा पेस गरिएको हो।
प्रतिनिधिसभा नियमावलीको नियम ५६ बमोजिम सभामुखले निर्धारण गरेको कार्यतालिका अनुसार बुधबारको बैठकमा ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम’ सञ्चालन हुँदैछ। नियमावलीको दफा ५८ मा भएको व्यवस्थाअनुसार बैठक बस्नुभन्दा तीन दिन अगावै अर्थात् भदौ ५ गतेभित्र लिखित जानकारी गराउने समयसीमाभित्र ११ जना सांसदहरूले प्रश्न दर्ता गराएका छन्। नियमावलीको दफा ५७ अनुसार प्रत्यक्ष प्रसारण हुने यस कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री संसद्मा उपस्थित हुँदा कालो चस्मा लगाउनुपर्ने बाध्यकारी स्वास्थ्य कारण खुलाउँदै सचिवालयमा पत्र दर्ता गराइएको हो।



































