भारतीय प्रधानमन्त्री मोदी र चिनीयाँ राष्ट्रपति सीबीच दिल्लीमा द्धीपक्षीय भेटवर्ता
वि.सं.२०८३ भदौ २७ शनिवार २१:२७
shares

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिनपिङबीच शनिबार १८ औं ब्रिक्स शिखर सम्मेलनको अवसरमा नयाँदिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ ।
भेटमा मोदीले चीनबाट प्राप्त सहयोग र समर्थनका लागि धन्यवाद दिएका छन् ।वार्तामा दुई देशबीचको सीमा तनाव, व्यापार तथा आर्थिक सम्बन्ध सुधार र आपूर्ति शृंखला लगायत विषयमा छलफल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भेटवार्तामा चिनियाँ राष्ट्रपति सीले चीन र भारतले एकअर्काका क्षमता र अनुभवबाट सिक्दै साझा विकासका लागि सहकार्य गर्नुपर्ने बताए । उनले ब्रिक्स राष्ट्रबीचको सहकार्य बढाउन दुवै देशले मिलेर काम गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै, तिब्बतमा चीनले निर्माण गर्न लागेको विशाल जलविद्युत् आयोजनाका कारण ब्रह्मपुत्र नदीको तल्लो तटीय क्षेत्रमा पर्नसक्ने प्रभावबारे भारतले चासो व्यक्त गरेको बताइएको छ ।
व्यापारतर्फ भारतीय वस्तुलाई चिनियाँ बजारमा सहज पहुँच, चिनियाँ मेसिनरी तथा उपकरणको आपूर्ति, प्रविधि निर्यातमा लगाइएको प्रतिबन्ध र भारतीय व्यवसायीमाथिको भिसा प्रतिबन्धबारे पनि छलफल भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
दुवै नेताको भेटलाई भारत–चीन सम्बन्धमा रहेका मतभेद व्यवस्थापन गर्दै संवाद र सहकार्यलाई दीर्घकालीन रूपमा अघि बढाउने प्रयासका रूपमा हेरिएको छ ।






































