मुस्ताङ भन्सारको प्रगति पछिल्ला १५ दिनमै दैनिक ३० करोड राजस्व संकलन
वि.सं.२०८३ भदौ २८ आइतवार १२:२८
shares

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै एक अर्ब ७८ करोड ४४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
रसुवाको भोटेकोशीमा गएको बाढीका कारण (रसुवागढी–केरुङ)नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी ह्वात्तै बढेको छ । भन्सार प्रमुख बिदुर चुडालका अनुसार रसुवागढी–केरुङनाका र तातोपानीनाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोरलानाकाबाट चिनियाँ मालवस्तु पैठारीको क्रम बढ्दो रहेको उल्लेख गरे । शुक्रबारमात्रै मुस्ताङ भन्सार कार्यालयले एकैदिन २७ करोड ११ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । भदौ २२ पछि मुस्ताङ भन्सारबाट दैनिक औसत ३० करोड रुपैयाँ हाराहारीमा राजस्व सङ्कलन हुने गरेको प्रमुख चुडालको भनाइ छ ।
प्रमुख चुडालका अनुसार शुक्रबारमात्रै ७१ कन्टेनर र १ सय ६ विद्युतीय सवारीसाधन (इभी) को भन्सार जाँचपास भई गन्तव्यतर्फ प्रस्थान गरेका छन् । रसुवागढीनाका बन्द भएको भदौ १० गतेपछि भदौ २५ गते शुक्रबारसम्म कोरलानाकाबाट नेपाल भित्रिएका ४ सय ३४ वटा कन्टेनर र ६ सय ४१ वटा विद्युतीय सवारीसाधनको भन्सार कार्यालयमा जाँचपास गराइएको उनले बताए ।
चालु आव २०८३–८४ को साउनदेखि भदौ २५ गतेसम्म कोरलानाका हुँदै नेपाल भित्रिएका कन्टेनर र विद्युतीय सवारीसाधनको भन्सार जाँचपास गरिँदा दुई अर्ब ३१ करोड ४४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको भन्सार प्रमुख चुडालले बताए । भदौ ९ गतेसम्म १ सय ३३ कन्टेनर र १ सय ६३ वटा विद्युतीय सवारी नेपाल भित्रिएका थिए ।
विसं २०८२ भदौअघि उपल्लो मुस्ताङका नागरिकका लागिमात्रै बाह्रै महिना खुला गरिएको कोरलानाका गत वर्ष तातोपानी र रसुवागढीनाका बाढीपहिरो तथा नदी कटानले सडक अवरुद्ध भएपछि नेपाल सरकारले गत वर्षको भदौ ३१ गतेदेखि कोरलानाकालाई वैकल्पिक रूपमा निकासी तथा पैठारी नाकाका रूपमा खुला गरेको थियो । भन्सार प्रमुख चुडालका अनुसार गत आव २०८२–८३ मा उत्तरी कोरलानाकाबाट भएको निकासी तथा पैठारीबाट मुस्ताङ भन्सारले छ अर्ब ९२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।
त्यस वर्ष पैठारीतर्फ १४ अर्ब ४१ करोड रुपैयाँ र निकासीतर्फ २० करोड ५० लाख रुपैयाँ बराबरको मालवस्तुको कारोबार भएको थियो । गत वर्ष कोरलानाका हुँदै तीन हजार २ सय २३ वटा विद्युतीय सवारी र एक हजार ८ सय ७३ वटा कन्टेनरको जाँचपास गरिएको थियो ।





































