kumari
stcnepal

कांग्रेसलाई मस्ती दाहाल–नेपाललाई सास्ती

निकै लामो विवाद पछि अमेरिकी सहयोग नियोग मिलेनियन च्यालेन्ज कर्पोरेशनसँग गरेको सम्झौता संसदबाट अनुमोदन गरिएको छ । संसदबाट अनुमोदन गरिए पनि उक्त सम्झौताको कम्युनिष्ट पार्टीहरुबाटै विरोध हुँदै आएको छ । सत्तागठबन्धनमा रहेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले भने उक्त सम्झौतालाई अनुमोदन गर्न सहयोग गरेको भन्दै अन्य कम्युनिष्ट पार्टीहरुले उनीहरुको विरोध गर्दै आएका छन् । एमसीसी सम्झौताका कारण जनतालाई विभाजित गराइएको छ । सत्तामा रहेका दलहरु मध्येको नेपाली कांग्रेसले मात्र उक्त सम्झौता अनुमोदन गराउनु पर्ने भन्दै निकै पहिला देखि नै आफ्नो पार्टीको धारणा सार्वजनिक गरेको थियो । तर माओवादी केन्द्र र नेकपा एकीकृतले भने यथास्थितिमा सम्झौता अनुमोदन गराउन नसकिने भन्दै आएका भए पनि अन्तिम समयमा शब्दजाल रचेर उनीहरु समेत सम्झौताकै पक्षमा सहमत भएका हुनाले फागुन १५ गते संसदको बैठकबाट बहुमतले एमसीसी सम्झौतालाई अनुमोदन गराएका थिए ।
एमसीसी सम्झौता हुँदा नेपाली कांग्रेसकै नेतृत्वमा शेर बहादुर देउवा सरकार रहेको र सो सरकारमा माओवादी केन्द्र समेत सहभागि भएको थियो भने संसदबाट अनुमोद नहुँदा समेत देउवाकै नेतृत्वमा सरकार रहेको र माओवादी केन्द्र समेत सरकारमा रहेको छ । सम्झौता हुँदा र अनुमोद नहुँदा समेत माओवादी केन्द्र सरकारमा रहेको हुनाले उसले सम्झौतालाई अनुमोदन गराउने दायित्व समेत उसैको थियो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अनेक बखेडा झिकेर सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसलाई आफ्नो पार्टीको पार्टीगत स्वार्थका लागि पर्न कांग्रेसलाई बाध्य परेका छन् । सत्तामा रहेका दुई कम्युनिष्ट दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी जसरी भए पनि अहिलेको गठबन्धनलाई आउँदो स्थानीय तह प्रदेशसभा र संघीय संसदको निर्वाचन सम्म सँगै लान चाहिरहेका छन् । सबै तहको निर्वाचनमा गठबन्धन नै गरेर निर्वाचनमा गएको खण्डमा मात्र उनीहरुले कांग्रेसको आडमा आफ्नो भविष्य देखेका छन् । अर्थात उनीहरु कांग्रेसको पुच्छर समाएर निर्वाचनमा बैतर्णी तर्ने प्रयासमा लागि परेका छन ।

यी दुवै पार्टीलाई जनतामाथि विश्वास र भरोसा रहेको छैन । नेकपा एमालेबाट विभाजित भई गठन भएको नेकपा एकीकृत समाजवादीलाई त एक्लै निर्वाचनमा जानुपर्दा अझै ठुलो कठिनाई उपत्न्न हुने अवस्थाको आलंकलन गरेरै पार्टीको सिद्धान्त र नीति विपरित कांग्रेससँग सहकार्य गरी पार्टीगत र पार्टीका अध्यक्षको व्यक्तिगत स्वार्थ पूरा गर्न लागि परेको छ ।

सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा सत्ता गठबन्धनबाट अलग भएको छ । उसले एमसीसी सम्झौताको विरोध गर्दै सडक आन्दोलनमा समेत गएको छ । सडक आन्दोलनमा साना वामपन्थीदलहरु नै रहनु र संसदको र राष्ट्रको ठुलो पार्टी नेकपा एमालेले संसद अवरुद्ध गरिरहनु र दुई कम्युनिष्ट पार्टीहरु भने सत्तामै रहेर मस्ती गरिरहनुले जनतालाई भने सास्ती भएको छ । यी सबै कारणहरुले गर्दा भन्न करै लाग्छ कम्युनिष्ट पार्टीहरुलाई समर्थन गर्ने जनता दिन प्रतिदिन घटिरहेका छन् । कम्युनिष्टहरुले जनतालाई धोका दिँदै आएका हुनाले जनता पछिल्लो समयमा अन्य पार्टीहरु तर्फ आकर्षित हुन थालेका छन् ।

आफूहरुलाई कम्युनिष्ट हौँ भन्ने कम्युनिष्ट पार्टीहरुले कम्युनिष्टको खोल ओडेर सत्ताकै वरिपरि घुमिरहेका हुनाले शेर बहादुर देउवा नेतृत्वको सरकारले प्रमुख प्रतिपक्षी दललाई खुईल्याने काम बाहेक अर्को कुनै उपलब्धि मूलक काम गर्न सकेको छैन । एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन गराउने कार्यलाई उसले आफ्नो सबै भन्दा ठुलो उपलब्धी माने पनि त्यसलाई पत्याउन जनता तयार देखिएका छैनन् । एमसीसी सम्झौता संसदबाट अनुमोदन गराइए पनि त्यो विवाद रहित हुन नसकेकोले त्यसको प्रभाव लामो समयसम्म परिरहने निश्चित रहेको छ ।

सत्ता गठबन्धनमा रहेकामा ओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले अहिलेको सत्ता गठबन्धनलाई निर्वाचन सम्म सँगै लैजानुपर्ने बताउँदै आएका भएपनि सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसका नेताहरुले भने आउँदो स्थानीय तहदेखि प्रदेस सभा र संघीय संसदको निर्वाचनमा कांग्रेस एक्लै निर्वाचनमा जानु पर्ने बताईरहेका हुनाले माओवादी केन्द्र र नेकपा एकीकृतलाई भने टाउको दुखाई भएको छ । कांग्रेसका नेताहरुले अहिलेको सत्ता गठबन्धनलाई आउँदो निर्वाचन सम्म सँगै लैजाने तर निर्वाचनमा तालमेल नगर्ने उद्घोष गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपाललाई टाउको दुखेको छ । उनीहरु जुनसुकै सर्तमा पनि तिनै तहको निर्वाचनमा गठबन्धन नै गरेर निर्वाचनमा जान चाहिरहेको छन् । एक्ला एक्लै निर्वाचनमा गए नेकपा एमाले नै विजयी हुने उनीहरुको ठहर रहेकोले गर्दा उनीहरुले कांग्रेसको पुच्छ समाएर निर्वाचनमा विजयी हुने सपना देखेका भएपनि कांग्रेसले त्यो सपनालाई पूरा नगरिदिने कांग्रेसकै नेताहरुले बताउँदै आएका छन् ।

काग्रेसका सभापति समेत रहेका प्रधानमनत्री देउवाले भने दाहाल–नेपालको सपना पूरा गरि दिने कि कांग्रेसलाई मुलुककै ठुलो पार्टी बनाएर सत्ता सञ्चालन गर्ने भन्ने विषयमा केही नबोलेका हुनाले पनि दाहाल–नेपालमा केही आशा पलाएको जस्तो देखिएको छ । कांग्रेसका नेताहरुले भने अन्तिम समयमा सभापति देउवाले कांग्रेस एक्लै निर्वाचनमा जाने निर्णय गर्ने छन् भन्दै अहिले देखि नै उनीहरु त्यसै अनुसार अघि बढेको हामीले ठानेका छौँ ।

 

footer