धमॅनिरपेक्ष कारण हिन्दु धर्म नास हुदै गयो : पूर्व प्रधानन्यायाधीश पराजुली
वि.सं.२०७८ चैत ५ शनिवार २०:०१
shares

सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीले संविधानमा धर्म निरपेक्षताको व्यवस्थाका कारण हिन्दु धर्म मासिँदै गएको बताएका छन् । काठमाडौँमा शनिवार हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान प्रबुद्ध नागरिक गोष्ठी एवं साहित्य परिचय कार्यक्रममा बोल्दै उनले हरेक देशको आफ्नो धर्म हुने बताउँदै धर्म निरपेक्षताका कारण नेपालले आफ्नो मौलिक पहिचान गुमाएको टिप्पणी गरे ।
उनले भने–‘धर्म निरपेक्षता बाट हाम्रो धर्म संस्कृति समाप्त भएको छ, हामीले पालना गरेको रीति स्थिति समाप्त भएको छ । त्यो धर्म निरपेक्षता हामीलाई चाहिँदैन ।’ हिन्दु धर्म पवित्र आत्माहरूको पुञ्ज भएको बताउँदै प्रधानन्यायाधीश पराजुलीले संसारमा रहेका सबै धर्म भन्दा हिन्दु धर्म असल चरित्रको, अहिंसा परोमोधर्म, बसुधैव कुटुम्बकम सिद्धान्तमा आधारित रहेको बताए । उनले भने–‘संसारमा हिन्दु धर्म भन्दा ठूलो, यो भन्दा पुरानो, यो भन्दा सुद्ध असल संस्कारको धर्म छैन । हामीले बसुधैव कुटुम्बकमको सिद्धान्तलाई अनुसरण गरेका छौँ । हामीले अहिंसा परमोधर्मलाई अनुसरण गरेका छौँ । हामीले परोपकाय पुण्याय, पापाय परिपिडनको सिद्धान्तलाई अनुसरण गरेका छौँ । हामीले असतोमा सत्गमयको सिद्धान्तलाई अनुसरण गरेका छौँ । हामीले जे भनिरहेका छौँ त्यो मानव कल्याणका लागि भनिरहेका छौँ ।’
उनले संविधानवाद आफूले पनि पढेको बताउँदै संविधान बनाउँदा झुक्याएर धर्म निरपेक्षता लादिएको बताए । पराजुलीले विश्वमा धर्मका आधारमा देशहरूको पहिचान रहेको भन्दै ५७ वटा इसाई राष्ट्र, १ सय १४ राष्ट्र इसाई राष्ट्र बन्न लागेको, ३३ इस्लामिक राष्ट्र रहेको र ९ बुद्धिष्ट राष्ट्र रहेको जानकारी गराए । उनले हिन्दूले पालना गरिरहेको धर्म माथि अरू धर्मवलाम्वीहरुले लोभ नदेखाउन र आफ्नो धर्म पालना गर्न दिन आग्रह गरे । पूर्व प्रधानन्यायाधीश पराजुलीले बेलायतको टोनी ब्लेयर प्रधानमन्त्री हुने बेला राज्यको धर्म अनुसार शपथ खाएको उल्लेख गरे । अमेरिकाकी उपराष्ट्रपतिले शपथ ग्रहण गर्दा गीता छोएर शपथ लिएको बताउँदै शपथ खाने कुरा हेलचेक्रायाई विषय नभएकोले नेपालमा पनि गीता छोएर कसम खानुपर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
उनले पञ्चायत विरोधका क्रममा आफूले जेलनेल खाएको बताउँदै धर्म निरपेक्षताको विरोध गर्दा छोड्नुपरे आफूले पाइरहेको ६० हजार पेन्सन छोड्न तयार रहेको तर आफूले मान्दै आएको धर्म संस्कृति छोड्न नसक्ने बताए । कार्यक्रममा पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले २०६२/०६३ को आन्दोलनका बेला धर्मका विषयमा कुनै विवाद नरहेको र रातारात पश्चिमा देशहरूको डलरको प्रभावमा रातारात धर्म निरपेक्षता राखिएको उल्लेख गरे । धर्म निरपेक्षताले हिन्दु धर्म, संस्कृति र परम्परा मासिँदै गएको बताउँदै उनले देशको भूभाग मासिएमा फिर्ता ल्याउन सकिने तर धर्म र संस्कृति मासियो भने त्यसलाई फर्काएर ल्याउन नसकिने बताए । खरेलले राजनीति गर्नेहरूले अरूको आदेशमा हिन्द राष्ट्र माथि आक्रमण गरेको बताउँदै आफ्नो धर्म संस्कृति रक्षाका लागि अग्रसर हुने समय आएकोमा जोड दिए ।






































