kumari
stcnepal

राहतको प्याकेजले खुसी ल्याएन

उत्तरी छिमेकी मुलुकबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) ले गर्दा आज विश्व जगत नै आक्रान्त भएको छ । यस भाइरसले के धनी के गरिब सबै मुलुकलाई उत्तिकै आक्रान्त बनाएको छ । पछिल्लो समयमा भाइरस उत्पन्न भएको मुलुक चीनमा भने यसको प्रभाव केही घटेको जस्तो देखिएको भएपनि विश्वका अरु मुलुकहरुमा यसको प्रभाव दिन प्रतिदिन बढ्दै गएको छ । यस भाइरसबाट नेपाल समेत प्रभावित भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको केपी ओली सरकारले विश्वभरमै फैलिएको भाइरसलाई नियन्त्रण गर्न केही कदमहरु चालेपनि अहिले त्यस्ता कदमहरु प्रभावहिन अवस्थामा देखिएको हुनाले जनता आक्रान्त भएका छन् । भाग्यवस अहिले सम्म यस भाइसरका कारण नेपालमा भने कोही नेपालीले ज्यान गुमाउनु परेको छैन । केही व्यक्तिहरुमा यो रोग लागेको भएपनि त्यस्तो रोगको नियन्त्रण गर्न सरकार लागि परेको छ ।

विश्वका विकसित देशहरुलाई समेत यस भाइरसले आक्रान्त बनाइरहेका बेला नेपालजस्तो गरिब र अल्पविकसित देशलाई यो भाइसर नियन्त्रण गर्न हम्मे हम्मे परेको छ । सरकारले चैत्र ११ गतेदेखि लकडाउन गरेको छ । लकडाउनका बेला जनताले देखाउनुपर्ने धैर्यता र विश्वासपूर्ण कदम उठाउनुपर्ने टड्कारो आवश्यता देखएिको छ । यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सहजै सर्ने भएकाले समूहमा नगएर घरैमा बस्नु यसको सफल र सहज अचूक औषधी हो । अहिलेसम्म यस भाइरसको औषधी र खोप तयार भएको छैन । विश्वका धेरै देशहरुले यस भाइरसको औषधी र खोपका लागि दिन प्रतिदिन अनेक उपाएहरु गरिरहेका छन् । तर कुनै पनि देशलाई सफलता मिलेको छैन । अनेक प्रयासहरु भएका छन् । त्यस्ता प्रयासहरु सफल भएपनि यस भाइरसको औषधी र खोप तयार भएपनि त्यस्तो औषधी र खोप बजारमा आउन कम्तिमा ६ देखि ९ महिनासम्म लाग्न सक्ने अवस्था देखिएको छ । त्यसैले त्यसबेला सम्म विश्व जगत्ले ढुक्क भएर बस्ने अवस्था देखिँदैन ।

पछिल्लो समयमा भाइरसकै कारण विश्वका दशौं लाख जनताले रोजगारी गुमाएका छन् भने लाखौं व्यक्ति संक्रमित भएका छन् । त्यसैले गर्दा विश्वमा नै आर्थिक संकट आउन सक्ने सम्भावना समेत देखिएको छ । नेपाल पनि त्यसबाट अछुतो रहन सक्दैन । अहिले अकडाउनको अवस्था रहेकोले गर्दा दैनिक रोजगारी गरेर परिवार पाल्ने आम नेपाली जनता संकटमा परेका छन् । गाउँ गाउँबाट रोजगारी खोज्न काठमाडौ आएका व्यक्तिहरु रोजगारविहिन भएकाले उनीहरुको घरको चुल्हो बन्द भएको छ भने बजारमा प्रत्येक सामानको मूल्य बृद्धि भएका कारण सिमित आयस्रोत भएका व्यक्तिहरु छटपटाउन थालेका छन् । त्यसैले यस्तो संकटपूर्ण अवस्थामा आफ्ना नागरिकहरुको जिऊ धनको सुरक्षा गर्ने दायित्व समेत सरकारको भएको हुनाले सरकारले अब कुनै विलम्ब नगरी जनताको लागि पुन राहत प्याकेज ल्याउनुपर्ने आवश्यकता देखिन्छ । एकातिर जनता कोरोना भाइरसको मारमा परेका छन् भन अर्कोतिर खान नपाएर मर्नुपर्ने अवस्था नहोस् भनेर सरकार सतर्क रहनुपर्ने अवस्था देखिएको छ त्यसैले तत्काल सरकारले राहत प्याकेज ल्याउनुपर्दछ ।

मुलुक संकटमा परेको बेला केही काला व्यापारीहरु र नाफाखेराहरु चलबलाउन थालेका छन् । प्रत्येक सामानको मूल्यबृद्धि गरिएको छ । सामान हुँदाहुँद नभएको बहानाबाजी गरेर उपभोक्ताहरुलाई ठग्ने काम भएकाले तत्काल त्यस्ता व्यापारी र उद्योगपतिहरुलाई कारबाही गरिनु आवश्यक छ । कोरोना भाइरसका कारण सरकारले सरकारी अस्पतालहरुको ओपिडी बन्द गरेको हुनाले कोरोना भाइरसका बाहेकका अन्य विरामीहरु मारमा परेका छन् । काठमाडौ मै ज्वरो आएका व्यक्तिहरुले उपचार पाउन सकेका छैनन् भने उपत्यका बाहिरको अवस्था कस्तो होला ? मुलुकभरमा नाफाका लागि खोलिएको निजी अस्पतालहरुले ज्वरो आएका र रुघा खोकी लागेका व्यक्तिहरुको उपचार गर्न छाडेका छन् । सरकारी अस्पतालहरुले ज्वरो आएका र रुघा खोकी लागेका व्यक्तिहरुको उपचार गर्न छाडेका छन् । सरकारी अस्पतालहरुले समेत त्यस्तै गरेका हुनाले ज्वरो र रुघाखोकी लागेका व्यक्तिहरुको उपचार गर्न अस्वीकार गर्ने निजी अस्पतालहरुलाई सरकारले आफ्नो नियन्त्रणमा लिएर उपचारको व्यवस्था मिलाउन सक्नुपर्दछ ।

निजी अस्पतलाहरु मुलुक सहज अवस्थामा रहँदा जनतासँग रकम लुटिरहने तर संकटपूर्ण अवस्थामा उपचार नगर्ने भन्ने हुँदैन, यति त्यस्ता अस्पतालहरुले उपचार गर्न अस्वीकार गरेको खण्डमा त्यस्ता अस्पतालहरुलाई सरकारले राष्ट्रियकरण गर्न सक्नुपर्दछ । कोरोना भाइरसको उपचार गर्न अस्वीकार गर्ने स्पेनका सबै निजी अस्पतालहरु स्पेन सरकारले राष्ट्रियकरण गरेको छ । त्यहाँ राष्ट्रिय करण गर्न सम्भव छ भने हामी कहाँ किन असम्भव त ? पछिल्लो समयमा कोरोना भाइरसलाई देखाएर भ्रष्टाचार गर्ने प्रवृत्ति समेत बढेको हुनाले धमिलो पानीमा माछा मार्ने प्रयास गर्ने जोसुकै भएपनि तिनीहरुलाई कारबाही गर्न पछि पर्नु हुँदैन भन्ने हाम्रो धारणा रहेको छ ।

footer