दैनिक उपभोग हुने खाद्यवस्तु आयातका लागि चोभार बन्दरगाह प्रयोग हुन हुन्न : अर्थमन्त्री शर्मा
वि.सं.२०७८ चैत २२ मंगलवार १७:५६
shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले दैनिक उपभोग हुने खाद्यवस्तु आयातका लागि चोभार बन्दरगाह प्रयोग हुन नहुने बताएका छन् । मंगलबार चोभार सुख्खा बन्दरगाह उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले तरकारी, फलफूल, खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तु आयातका लागि यो बन्दरगाह प्रयोग हुन नहुने बताएका हुन् ।
चोभार सुख्खा बन्दरगाह सञ्चालन पछि मुलुक स्थल मार्ग भएर समुन्द्री पहुँचमा जोडिएको भन्दै उनले अब नेपालमा उत्पादित वस्तु समुन्द्री तट सम्म सिधै पुग्ने र त्यहाँ लोड भएका माल वस्तु सहजै काठमाडौं आउने बताए । अर्थमन्त्री शर्माले चोभार सुख्खा बन्दरगाह निर्यातको केन्द्र बन्नु पर्ने कुरामा जोड दिए ।
‘बन्दरगाह पूर्वाधार सञ्चालन पछि हामी सडक मार्फत समुन्द्री तट सँग जोडियौं । आयातको लागत घट्न यसले ठूलो योगदान गर्ने छ,’ अर्थमन्त्री शर्माले भने, ‘तर, यो बन्दरगाह खाद्यान्न, तरकारी र फललूल आयातमा मात्रै केन्द्रित नहोस्, निर्यातको केन्द्र पनि बनोस् ।’
आयातको तुलनामा वस्तु निर्यात निकै कमजोर रहेको भन्दै अर्थमन्त्री शर्माले नेपाली वस्तुहरु चोभार बन्दरगाह भएर निर्यात हुने गरी काम गर्न निजी क्षेत्रलाई आग्रह गरे । आयात घटाउन र निर्यात बढाउन सबै मिलेर काम गर्नु पर्ने भन्दै उनले सरकार पनि आयात प्रतिस्थापनका लागि काम गरिरहेको बताए । आयात बढ्दा अर्थतन्त्रमा केही चुनौती थपिएको उनको भनाइ छ ।
अर्थमन्त्री शर्माले भने, ‘सरकार सँग अझै ९ खर्ब ४० अर्ब शोधनान्तर सञ्चिति छ, यसले ६ महिनाको वस्तु तथा सेवाको आयात धान्छ ।’ अर्थतन्त्र सुधारमा केही कदम चाले पछि रेमिट्यान्स भित्रिनेक्रम बढेको शर्माको भनाइ छ ।







































