kumari
stcnepal

कोरोना रोकथाम तथा नियन्त्रण गर्न सरकारी रवैया नै बाधक

उत्तरी छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले गर्दा विश्वभरमै आतंक मच्चिएको छ । नेपालमा समेत त्यस भाइरसको कारण आतंक मच्चिएको छ । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको केपी ओली सरकारको नालायकीपन र प्रधानमन्त्री ओलीको हठका कारण पछिल्लो समयमा जनता सडकमा उत्रिएका छन् । गत चैत्र १८ गतेदेखि मुलुकभरमै लकडाउन लागु गरिएपनि लकडाउनको समयमा सरकारले गर्नुपर्ने धेरै काम थिए तर सरकार त्यसबेला सुतेर बसेको थियो । जनता घरमै बसेका बेला सरकारले चाहेको भए धेरै काम गर्न सक्ने अवस्था थियो तर सरकार भने ख्याल ख्यालमै रमाउन थाल्यो । प्रधानमन्त्री ओलीले जनतालाई अर्ति उपदेश दिएर लकडाउनको समय विताए । नेपाली जनतालाई कोरोना भाइरस लाग्दैन भन्दै जनतामा एन्टिबडी पर्याप्त भएको र जनताले उक्त भाइरसलाई सहज रुपमै पचाउन सक्छन् भन्दै बेसार लगायत अन्य बस्तुहरुको प्रयोग गर्न निर्देशन दिए । स्वास्थ्य विज्ञहरुले भनेको सम्म सरकारले सुन्न सकेन । अहिले त्यसैको प्रभाव नेपालमा परेको छ ।

लकडाउन गर्दा चैत्र ११ गतेसम्म कोरोना भाइरस फैलिसकेको थिएन, त्यसबेला २ जनालाई मात्र उक्त भाइरसले संक्रमित बनाएको थियो । बैशाखको अन्तिम हप्तादेखि संक्रमणले उग्ररुप लियो । त्यसबेला सम्म सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि आवश्यक पर्ने औषधी र उपकरणको पर्याप्त व्यवस्था गर्न सक्दथ्यो तर त्यसो हुन सकेन । छिमेकी मुलुक भारतबाट नेपाल प्रवेश गर्ने आफ्ना नागरिकलाई नेपाल भारत सीमामै रोकियो । भारतले विभिन्न ठाउँबाट नेपाल प्रवेश गर्ने नेपालीहरुलाई नेपाल भारत सीमामा ल्याएर छाडिदियो । आफ्ना नागरिकलाई ओली सरकारले बेलैमा नेपाल प्रवेश गर्न दिएको भए अहिलेको जस्तो जटिल समस्या नै आउने थिएन । सरकारले स्थानीय तह र प्रदेश सरकारलाई क्वारेन्टाइन बनाउन निर्देशन जारी ग¥यो तर संघीय सरकारले रकम उपलब्ध नगराएको भन्दै स्थानीय तहहरुले गुनासो गरिरहेका छन् । निकै ढिलो ओली सरकारले प्रदेश सरकार र स्थानीय तहलाई आवश्यक पर्ने रकम उपलब्ध गराएको हुनाले स्थानीय तहले बनाएका क्वारेक्टाइन गुणस्तरहीन भए । क्वारेन्टाइनमा कुनै सुविधा उपलब्ध नगराइनु र औषधी र परीक्षणको व्यवस्था समेत गर्न नसक्नु ओली सरकारको असफलता र नालायकीपनको राम्रो नमुना हो ।

सत्ताधारी दल भित्रको आन्तरिक द्वन्द्वले गर्दा प्रधानमन्त्री ओली जसरी भएपनि सत्ता बचाउने खेलमै समय विताउन बाध्य भए भने पार्टीका दुई अध्यक्ष मध्येका एक पुष्पकमल दाहाल सहितका नेताहरुले सरकारलाई सहयोग गर्नुपर्ने आवश्यकता सम्म देखेनन् । मुलुक संक्रमित अवस्थामा रहेपनि त्यो समस्या सरकारको मात्र हो भनेर सिंगो पार्टी चुपचाप बस्दा प्रधानमन्त्री ओली गुटका नेताबाहेक अन्यले सरकारलाई सहयोग गर्नुपर्ने आवश्यकता नै देखेनन् । उनीहरुले आफ्नै पार्टीको अध्यक्ष ओली नेतृत्वको सरकार असफल भएको खण्डमा पार्टी पनि असफल सावित हुन्छ भन्ने हेक्का राख्न नसकेको र जसरी भएपनि प्रधानमन्त्री ओलीलाई झुकाउने पक्षमा भएकाले प्रधानमन्त्री ओली समेत सत्ता बचाउने खेलमै लागेका हुनाले उनले कोरोना भाइरसका बारेमा आवश्यक ध्यान पु¥याउन र त्यसै अनुरुपको निर्देशन दिन चुक्दै गएकाले अहिले समस्या देखिएको हो । सरकारमा रहेका व्यक्तिहरुको भ्रष्ट चरित्र र कमाउ धन्दामा समेत सक्रिय भएका हुनाले उनीहरुले कोरोना भाइरसलाई समेत कमाउ धन्दाको रुपमा प्रयोग गरे । स्वास्थ्य विज्ञहरुले दिएको सुझावलाई हावामा उडाइयो । विश्व स्वास्थ्य संगठनले आरडिटी टेष्ट नगर भनेर आफ्नो सदस्य राष्ट्रहरुलाई निर्देशन जारी ग¥यो । त्यही निर्देशन अनुसार भारत लगायतका अन्य धेरै मुलुकहरुले आरडिटी परीक्षणलाई प्रतिबन्ध लगाएका भएपनि नेपाल सरकारले भने त्यसैलाई प्राथमिकतामा राखेर, त्यसैबाट परीक्षण गर्ने निर्णय ग¥यो, सरकार त्यही निर चुकेको छ । आरडिटी परीक्षणले गर्दा जनतामा अर्को नैराश्यता बढ्यो । आरडिटीले कोरोना भाइरस भए नभएको पत्ता लगाउन सक्दैन । त्यसले त मानिसमा रोग प्रतिरोधात्मक क्षमता कति छ भनेर पत्ता मात्र लगाउने हो । तर स्वास्थ्यमन्त्री भानुभक्त ढकाल त्यही आरडिटी किट खरिद गर्न अहिले पनि स्वास्थ्य मन्त्रालयका उच्च तहका पदाधिकारीलाई दबाब दिइरहेका छन् । स्वाथ्यमन्त्रीका डा. खेम कार्की सल्लाहकारको भूमिकामा मात्र उनी सिमित भएका छैनन् । औषधी खरिद र उपकरण खरिदमा उनको निर्णय नै सर्वैसर्वा हुने भएकाले स्वास्थ्य मन्त्रालयका उपल्लो तहका पदाधिकारीहरुको सल्लाह सुझावलाई मन्त्री ढकालले एक कानले सुन्ने र अर्को कानले उडाउने गरेका हुनाले स्वास्थ्य मन्त्रालयले ठोस काम गर्न सकेका छैनन् ।

प्रधानमन्त्रीका विश्वासपात्र मानिएका मन्त्री ढकाल पछिल्लो समयमा आफ्ना सल्लाहकार डा. खेम कार्कीलाई साथ लिएर अनावश्यक निर्णय गर्दै अघि बढेका हुनाले मन्त्रालयभित्रै मन्त्री ढकालको विरोध हुन थालेको छ । मन्त्रीले भनेको नमान्दा स्वास्थ्य सचिव स्वास्थ्य सेवा विभागका उच्च तहका पदाधिकारीहरु दुई तीन महिनामै सरुवा हुने गरेका छन् । पछिल्लो समयमा मन्त्री ढकालकै निर्देशनअनुसार आरडिटी किट खरिद गरिएको छ । पछिल्लो पटक फेरी एकलाख आरडिटी किट खरिद गर्ने तयारी गरिएको छ । स्वास्थ्य विज्ञहरुले आरडिटी किटबाट परीक्षण गरिनु पैसाको बर्बाद र समय खेर फाल्नु हो भन्दै सल्लाह दिएपनि कमिसनको लोभमा त्यहि किट खरिद गर्न लागिएको छ । जनतालाई भेडा बाख्रासम्म राख्न नसक्ने क्वारेन्टाइनमा राखिएको र पीसीआर परीक्षण गर्न माग गर्दा गर्दै कोरोना संक्रमितहरुले ज्यान गुमाउनु परेपनि प्रधानमन्त्री ओलीले कोरोनाबाट कोही मरेका छैनन्, अन्य रोगले मरेका भएपनि विश्व स्वास्थ्य संगठनको निर्देशन अनुसार कोरोनाबाट मरेको स्वीकार गर्नु परेको अभिव्यक्ति दिँदै आएका छन् । सरकारले १० अर्ब खर्च गरिसकेको बताएपनि त्यसलाई पत्याउने आधार नभएकाले गर्दा पछिल्लो समयमा जनता सडकमै उत्रिएर विरोध जनाउन बाध्य भएका छन् । त्यसैले अब ओली सरकारले आफ्नो व्यवहार सुधार गर्नुपर्ने आवश्यकता देखिन्छ भन्ने हामीले ठानेका छौँ ।

footer