आजदेखि फेरि काठमाडौंका घरहरुमा मेलम्चीको पानी
वि.सं.२०७९ वैशाख ११ आइतवार ०९:५५
shares

काठमाडौं ।मेलम्ची बाट ल्याइएको पानी आजदेखि फेरि काठमाडौंका घरघरमा पठाइने भएको छ। गत असारमा मेलम्चीमा आएको बाढीले आयोजनालाई क्षति पुगेको थियो। क्षति भएका संरचना निर्माण गरेर काठमाडौं ल्याइएको पानी आज देखि घरघरमा पठाउन लागिएको हो।
खानेपानी मन्त्री उमाकान्त चौधरीले आज बिहान ९ बजे नयाँ बानेश्वर स्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेपछि घरघरमा पानी वितरण सुरू हुनेछ। गत चैत २९ मा मेलम्ची बाट पानी काठमाडौं पठाउन सुरू गरिएको थियो। गत माघ १४ गतेदे खि मेलम्ची आयोजनाको मर्मत गरिएको थियो। दुई महिनामा मर्मत सकेर पानी काठमाडौं ल्याइएको छ।
मेलम्चीको पानी काठमाडौं आएपछि यहाँ देखिएको पानी संकट समाधान हुने मन्त्री चौधरीले बताउने गरेका छन्। मेलम्ची बाट दैनिक १७ करोड लिटर पानी काठमाडौं आउनेछ। यसअघि ०७७ चैतमा पनि मेलम्चीको पानी काठमाडौं ल्याइएको थियो। त्यसबेला राष्ट्रपति विद्यादेवी भण्डारीले उपत्यकामा मेलम्ची पानी वितरणको शुभारम्भ गरेकी थिइन्।







































