kumari
stcnepal

दाहाल नेपालको च्याँखेमा देउवा रमाउँदै

 

यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरुले आ आफ्नो पार्टीबाट स्थानीय तहका उम्मेदवारहरुलाई टिकट वितरण गर्दा अपनाएको शैली लोकतान्त्रिक विधि र पद्दति विपरित रहेको छ । पार्टीमा लामो समयसम्म सक्रिय रहेका नेता तथा कार्यकर्ताहरुको भावना विपरित पार्टीका नेताहरुले आ आफ्नो स्वार्थ अनुरुप टिकट वितरण गरेपछि मुलुकभरमै बागी उम्मेदवारहरुको लर्को लागेको छ । पाँच दलीय गठबन्धनले भागवण्डा गरेर महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाहरुमा भागवण्डा गरेका हुनाले भागवण्डामा नपरेका दलका नेता तथा कार्यकर्ताहरुले विभिन्न जिल्लामा आफ्नै पार्टी विरुद्ध विद्रोह समेत गरेका छन् ।
भरतपुर महानगरमा कांग्रेसको राम्रोे पकड हुँदाहुँदै उक्त महानगर माओवादी केन्द्रको भागवण्डामा पारिएपछि त्यहाँ कागं्रेसका नेता तथा कार्यकर्ताहरुले २९ सै वडामा विद्रोही उम्मेदवार स्वतन्त्र रुपमा खडा गरेका छन् भने मेयरमा समेत उम्मेदवार उठाएका छन् । स्थानीय तहमा दलीय आधारमा निर्वाचन गराउने प्रक्रिया नै गलत हो । स्थानीय तहका जनप्रतिनिधिहरु चुन्ने अधिकार स्थानीयलाई दिनुपर्ने भएपनि स्थानीय तहका जनप्रतिनिधि चुन्न पनि पार्टीका केन्द्रीय कार्यालयहरुमा निर्णय गरिनु लोकतान्त्रिक व्यवस्थाको भावना विपरितको कार्य हो ।
स्थानीय तह नै लोकतान्त्रिक व्यवस्थाको मेरुदण्ड भएपनि दलहरुले मेरुदण्ड माथि नै प्रहार गरेका छन् । प्रायः सबै पार्टीका विधानमा स्थानीय तहलाई बलियो र प्रभावकारी बनाउने उल्लेख गरिएको भएपनि व्यवहारमा ठीक उल्टो भएको छ । स्थानीय तहबाट जनताका प्रायः सबै काम हुने भएकाले गर्दा स्थानीय जनताले नै आफ्ना प्रतिनिधि चुन्न पाउनुपर्ने व्यवस्थालाई दलहरुले उनीहरुको अधिकार समेत खोसेका छन् । केन्द्रबाट जबर्जस्ती लादिएको उम्मेदवारलाई उनीहरुले मत दिनुपर्ने अवस्था सिर्जना भएको छ । पाँच दलीय गठबन्धनले तल्लो तहसम्म गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय गर्नु नै लोकतान्त्रिक व्यवस्था र पद्दतिको विरोधको कार्य हो । लोकतान्त्रिक व्यवस्थामा जनताको आवाज सुन्नुपर्नेमा त्यसलाई कारबाहीको दण्डा देखाएर पार्टीका नेता तथा कार्यकर्ताहरुलाई धम्क्याउन खोजिएको छ ।
पाँच दलीय गठबन्धनले भागवण्डा गरेर निर्वाचनमा जानु भनेको आ आफ्ना पार्टीका नेता तथा कार्यकर्ताहरुलाई विश्वासमा लिन नसक्नु नै हो । आफ्नै पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरुलाई विश्वासमा लिन नसक्ने पार्टी नेतृत्वले कसरी जनतालाई विश्वासमा लिन सक्छन् अहिले गम्भीर प्रश्न भनेको यही हो ? पार्टीका नेता तथा कार्यकर्ताहरुको उचित मूल्यांकन नगरिकन गोजिबाट नाम निकालेर टिकट वितरण गरिएको भन्दै प्रायः ठुला भनिएका राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले आ आफ्नो पार्टीबाट राजिनामा दिएर अर्को पार्टीमा प्रवेश गरेका छन् । त्यो क्रम अहिले सम्म जारी रहेको छ । अब निर्वाचन आउन १५ दिन बाँकी रहँदा समेत पार्टी परित्याग गर्ने र अर्को पार्टीमा प्रवेश गर्ने क्रम जारी रहेकाले गर्दा लोकतान्त्रिक व्यवस्थाकै खिल्ली उडाइएको छ ।
पाँच दलीय गठबन्धनले जनतालाई विश्वास गर्न नसकेकै कारण गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा गएका छन् । नेपाली कांग्रेस जस्तो आफूलाई लोकतन्त्रको मसिया ठान्ने पार्टीले लोकतान्त्रिक पद्दति विरुद्ध कम्युनिष्ट पार्टीहरुसँग तालमेल गरेको छ । त्यही तालमेलले गर्दा कम्युनिष्ट पार्टीहरुको आत्मबल बढेको छ । कम्युनिष्ट पार्टीहरुलाई मजलज पु¥याउने काममा सत्ता स्वार्थका लागि कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवा र पार्टीका नेता रामचन्द्र पौडेल लागि परेका छन् भने देउवा पक्षका नेताहरुले देउवा र पौडेललाई सहयोग पु¥याउँदै आएका छन् । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई गठबन्धन आश्वकय थियो भन्ने प्रमाण त माओवादी केन्द्रका अध्यक्षले नै प्रमाणित गरिदिएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नै पार्टीको बैठकमा भनेका थिए गठबन्धन नभएको खण्डमा हामीहरु धुलो पिठो हुन्छौँ भनेर । त्यसैगरी नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले समेत आफ्नो पार्टीको निर्माणमा प्रधानमन्त्री देउवाले ठुलो सहयोग गरेको र अब स्थानीय तहको निर्वाचनमा पनि सहयोग गरेर आफ्नो नेतृत्वको पार्टीलाई राष्ट्रिय शक्तिको रुपमा पु¥याईदिने आश्वासन देउवाले दिएका छन् भन्ने उद्घोष गरेका हुनाले प्रष्ट हुन्छ अब माओवादी केन्द्र र एकीकृत समाजवादीलाई देउवाले नै वैतर्णी तारिदिने भएका छन् ।
कांग्रेसका सभापति एवं प्रधानमनत्री देउवालाई दाहाल–नेपालले आउँदो मंसिरमा हुने प्रदेशसभा र संघीय संसदको निर्वाचन पछि पनि देउवालाई नै प्रधानमन्त्री बनाईदिने र कांग्रेसको नेता रामचन्द्र पौडेललाई आउँदो फागुन २९ गते अहिलेकी राष्ट्रपति विद्यादेवी भण्डारीको पदावधि समाप्त भएपछि राष्ट्रपति बनाईदिने आश्वासन दिएका हुनाले देउवा र पौडेल एक भएका र उनीहरुकै बलमा गठबन्धनलाई आउँदो प्रदेशसभा र संघीय संसदको निर्वाचनसम्म लैजाने प्रयासमा देउवा–पौडेल लागि परेका छन् । त्यही सत्ता स्वार्थका लागि गठबन्धन बनाइएको हुनाले कांग्रेसका स्वाभिमानी नेता तथा कार्यकर्ताहरुले कांग्रेसभित्रै विद्रोह गरेपछि सभापति देउवाले उनीहरुमाथि कारबाहीको दण्डा चलाउन थालेका हुन् । यसले गर्दा कांग्रेस समाप्तिको बाटोतर्फ उन्मुख भएको छ ।
सत्ता स्वार्थलाई ध्यानमा राखेर कांग्रेस कम्युष्टिहरुको माखेसाङ्लोमा परेको छ भन्ने हामीले ठानेका छौँ । त्यही कारणले गर्दा अब कांग्रेसका असली नेता तथा कार्यकर्ताहरुले नेतृत्वलाई दबाब दिनु आवश्यक छ । लोकतान्त्रिक पद्दति बाहेक अन्य कार्यमा उनीहरुले नेतृत्वले गरेको गल्तीलाई स्वीकार गर्नु हुँदैन भनेर ।

footer