स्थानीय तह निर्वाचन सुरक्षाका लागि मध्यराति देखि ७२ घण्टा सम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द
वि.सं.२०७९ वैशाख २६ सोमवार ११:२२
shares
????????????????????????????????????
काठमाडौं । सरकारले मंगलबार राति देखि ७२ घण्टा सम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने भएको छ । स्थानीय तह निर्वाचन सुरक्षाका लागि मंगलबार मध्यराति देखि मतदान हुने दिनसम्मका लागि सीमा बाट हुने आवागमन बन्द गर्न लागिएको हो ।
मतदानको दिन भन्दा अगाडिको ७२ घण्टालाई मौन अवधि मानिन्छ । मौन अवधिमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने र चुनाव प्रचार गर्न बन्देज लगाउने गरिन्छ । सीमावर्ती जिल्लाका प्रशासन कार्यालयहरुलाई मंगलबार मध्यराति देखि सीमा नाका बन्द गर्न भनिसकिएको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले अनुमति बेगर सीमा बाट आउ-जाउ गर्न नदिन निर्देशन दिइएको जानकारी दिए ।
नेपालका ४२ जिल्ला चीन र भारत सँग जोडिएका छन् । भारत तर्फका सीमा नाका खुल्ला हुने भएकाले आवागमन रोक्न चुनौती हुने गरेको छ । अन्तर्राष्ट्रिय हवाई उडानका लागि विमानस्थल सम्म पुग्ने र विदेश बाट फर्किनेहरुका लागि भने पासपोर्ट, भिसा र हवाई टिकटको आधारमा जिल्ला प्रशासन कार्यालयले सुरक्षाकर्मी सँग समन्वय गरेर गन्तव्य सम्म पुग्न सहजीकरण गर्दछ । मतदानका दिन सवारी अनुमति पत्र बोकेका गाडीहरु मात्र गुडाउन पाइने छ ।


































