आफ्नै गृह जिल्ला रौतहटमा स्थानीयद्धारा लखेटिए माधव नेपाल
वि.सं.२०७९ वैशाख ३० शुक्रवार १५:४५
shares
Madhav Kumar Nepal photo:Kiran Panday
रौतहट- गौरमा मतदान केन्द्र भित्र छिर्न खोज्दा माधव नेपाललाई कांग्रेस कार्यकर्ताले अवरोध गरेका छन्। पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई रौतहट सदरमुकाम गौरको विभिन्न वडाको मतदान केन्द्रमा घुम्ने क्रममा वडा नम्बर ५ गौरीशंकर यादव रौतहट क्याम्पस मतदान केन्द्र भित्र छिर्न खोज्दा स्थानीयहरुले नाराबाजी गरी अवरोध गरेका हुन्।
गौर- २ मा रहेको रामजानकी कन्या प्राविमा मत खसालेर गौरीशकर क्याम्पसको बुथमा छिर्न खोजेका नेपाललाई त्यहाँ बाट नाराबाजी गर्दै स्थानीयले लखेटेका हुन्। सुरक्षाकर्मीको सहयोगमा नेपाल बाहिरिएका थिए।
जिल्लाका केही मतदान केन्द्रमा विवाद हुँदा १५ जना बढी घाइते भएका छन्।रौतहटको गढीमाई नगरपालिका- ३ लक्ष्मीपुरमा मतदानको क्रममा झडप हुँदा १५ जना भन्दा बढी घाइते भएका छन्। लक्ष्मीपुर स्थित खरिदी प्राथमिक विद्यालय भवनमा रहेको मतदान केन्द्रमा नेकपा एकीकृत समाजवादी र कांग्रेस बीच झडप हुँदा अवस्था नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको थियो।
गढीमाई- ६ सिंगरवनमा एकीकृत समाजवादीका वडाध्यक्ष उम्मेदवार रामविनोद यादवको मोटरसाइकल जलाइएको छ। फतुवा विजयपुर नगरपालिकाको एउटा मतदान केन्द्रमा मतदानको विषयमा विवाद भएपछि प्रहरीले ५ राउन्ड हवाई फायर गरेको छ।





































