कैलालीको टीकापुर नगरपालिकाको मेयरमा नागरिक उन्मुक्ति पार्टीका रामलाल डगौरा थारु निर्वाचित
वि.सं.२०७९ जेठ ५ बिहीवार ११:४८
shares

धनगढी ।कैलालीको टीकापुर नगरपालिकाको मेयरमा नागरिक उन्मुक्ति पार्टीका रामलाल डगौरा थारु निर्वाचित भएका छन् । सत्तारुढ पाँच दलीय गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नवराज रावललाई ३ हजार मतान्तरले पराजित गर्दै थारु निर्वाचित भएका हुन् ।
टीकापुर नगरपालिकाका निर्वाचन अधिकृत पुष्कर खडकाले थारु नौ हजार ६४२ मत प्राप्त गर्दै विजयी भएको जानकारी दिए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रावलले ६ हजार ६४२ मत मात्रै प्राप्त गरेका छन् । उपमेयरमा भने सत्तारुढ गठबन्धनका तर्फ बाट साझा उम्मेदवार रहेका माओवादी केन्द्रका खडकबहादुर शाह निर्वाचित भएका छन् ।
शाहले ७ हजार ९५५ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीकी उल्कादेवी विश्वकर्माले ७ हजार ८०२ मात्र मत पाइन् । प्रतिनिधिसभा निलम्बित सांसद रेशम चौधरीको अगुवाइमा गठन गरिएको नागरिक उन्मुक्ति पार्टीले कैलालीको जानकी गाउँपालिका र भजनी नगरपालिकामा समेत मतगणनाको सुरुवात देखि अग्रता लिएको छ ।




































