गठबन्धनले गर्दा जनतामा कुन दलको हैसियत कति भन्ने देखिएन
वि.सं.२०७९ जेठ १२ बिहीवार १९:१३
shares

काठमाडौ । गत वैशाख ३० गते सम्पन्न भएको ७ सय ५३ वटा स्थानीय तहको निर्वाचन परिणाम सार्वजनिक भईसकेको छ । सत्ता गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेस सबै भन्दा ठुलो पार्टी बनेको छ ।
संघीय संसदमा र २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा सबै भन्दा ठुलो पार्टी बन्न सफल भएको नेकपा एमाले पहिलो पार्टीबाट दोस्रो पार्टीमा झरेको छ भने पहिला पनि तेस्रो पार्टी रहेको माओवादी केन्द्र अहिले पनि तेस्रो पार्टीमै रहेको भएपनि उसले यस पटकको निर्वाचनमा पहिलाको भन्दा १५ स्थानमा बढी जित हाँसिल गरेको छ ।
माओवादी केन्द्रले २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा १ सय ६ तहमा जित हाँसिल गरेकामा यस पटक १ सय २१ स्थानमा जित हाँसिल गरेको छ । सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी चौथोँ स्थानमा रहँदा नेकपा एकीकृत समाजवादी पार्टी पाँचौं स्थानमा रहेको छ भने लोकतान्त्रिक समाजवादी पार्टी छैठौँ स्थानमा रहेको छ । यी सबै पार्टीहरु राष्ट्रिय पार्टी रहेका छन् ।
यस पटकको निर्वाचनमा केही स्वतन्त्र उम्मेदवारहरुले समेत विभिन्न पालिकाहरुमा जित हाँसिल गरेका छन् । जसमा काठमाडौ महानगरपालिका, धरान उपमहानगरपालिका, धनगढी उपमहानगरपालिका र जनकपुरधाम उपमहानगरपालिका रहेका छन् । जनकपुरधाम उपमहानगरपालिकामा कांग्रेसका बागी उम्मेदवारले नै जित हाँसिल गरेका हुनाले उनी कांग्रेसमै फर्किन सक्ने सम्भावना रहेको भएपनि अहिले नै उनले केही निर्णय गरेका छैनन् ।
काठमाडौ महानगरपालिकाका दलहरुलाई पराजित गर्दै बालेन्द्र साह मेयर पदमा विजयी भएका छन् भने उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डँगोलले आफ्ना प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादी उम्मेदवारलाई झण्डै तीन दोब्बर मतले जित हाँसिल गरेकी छन् । काठमाडौ जस्तो संघीय राजधानीमै स्वतन्त्र उम्मेदवारले जित हाँसिल गरेर दलहरुका सामु चुनौतीका पहाड खडा गरिदिएका छन् । यस पटकको स्थानीय तहको निर्वानमा मुलुकभरमै १३ जना स्वतन्त्र उमेदवारहरुले काठमाडौ सहति अन्य पािलकाहरुमा मेयर÷अध्यक्ष पदमा निर्वाचन जितेका छन् ।
स्थानीय तहको निर्वाचनमा सत्ताधारी पाँच दलीय गठबन्धन गठबन्धन नै गरेर निर्वाचनमा होमिएको थियो भने नेकपा एमाले एक दुई ठाउँमा गठबन्धन गरेर अन्य सबै तहमा एक्लै निर्वाचनमा गएको थियो । सत्ता गठबन्धनले पहिला राप्रपाले जितेको हल्दीबारी गाउँपालिका, कचनकवल र गौरीगञ्ज गाउँपालिकामा समेत गठबन्धन गरेको थियो ।
कचनकवल गाउँपालिकामा त नेकपा एमाले, कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए भने हल्दीबारी गाउँपालिकामा समेत राप्रपाका विरुद्ध गठबन्धन नै गरेका भएपनि त्यहाँ राप्रपाले नै जित हाँसिल गरेको छ । यस्तो अवस्था हेर्दा विभिन्न पालिकाहरुले एकले अर्कोलाई पराजित गर्न अप्राकृत्तिक गठबन्धन समेत गरेका थिए ।
त्यस्ता अप्राकृत्तिक गठबन्धन गरेका पालिकाहरुमा निर्वाचन परिणाम पनि अप्राकृत्तिक नै आएको छ । राजनीतिक दलहरुले आ आफ्नो दलको जनमत जाँच्नुपर्नेमा नेकपा एमाले र केही साना दल बाहेककले आफ्नो पार्टीको जनमत नै जाँच्ने अवस्था देखाउन सकेनन् ।
पाँच दलीय गठबन्धनले गठबन्धन नै गरेर निर्वाचनमा गएका हुनाले कुन दलको जनतामा कति हैसियत छ भनेर जाँच्ने अवसर गुमाएका छन् । पाँच दलका साझा उम्मेदवारहरुलाई नेकपा एमालेका उम्मेदवारहरुले धेरै स्थानमा पराजित गरिदिएका हुनाले अहिले पनि नेकपा एमाले नै जनतामा विश्वासिलो पार्टी रहेको प्रमाणित भएको छ ।
पाँच दलीय गठबन्धनका साझा उम्मेदवार रहेका पालिकाहरुमा गठबन्धनका उम्मेदवारले मेयर÷अध्यक्ष पदमा जित हाँसिल गरेका भएपनि उपमेयर÷उपाध्यक्षमा एमालेका उम्मेदवारहरुले जित हाँसिल गरेका छन् गठबन्धनका उम्मेदवारहरुको मत भन्दा दोब्बर मत ल्याएर ।
यस पटकको स्थानीय तहको निर्वाचनमा पाँच दलयि गठबन्धन गरेकै कारण नेपाली कांग्रेस सबैभन्दा ठुलो पार्टी बन्न सफल भएको छ । एक्लाएक्लै निर्वाचनमा गएका भए नेकपा एमाले नै सबैभन्दा ठुलो पार्टी बन्ने निश्चित रहेको चुनावी परिणामले देखाएको छ । नेकपा एमाले भित्रको आन्तरिक द्वन्द्व र अन्र्तघातका कारण केही पालिकामा एमालेले पराजित हुनु परेको छ ।
यस पटकको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र भन्दा बढी आन्तरिक द्वन्द्व र घात एमालेमै भएको पार्टी अध्यक्ष केपी ओलीले स्वीकार गरिसकेका छन् । नेकपा एमालेले २०७४ मा २ सय ९४ स्थानमा जित हाँसिल गरेको भएपनि यस पटक उसले ८९ स्थान गुमाएको छ भने यहि महिनाभित्रमा हुने जिल्ला समन्वय समितिको निर्वाचनमा समेत एमालेले धेरै जिल्ला गुमाउने निर्वाचन परिणामले देखाएको छ ।
कतिपय जिल्लामा गठबन्धनमा रहेका दलहरु र नेकपा एमालेको वराबरी मत रहेको हुनाले त्यस्ता जिल्लामा गोला तानेर जिल्ला समन्वय समितिको नेतृत्वको निर्णय हुन सक्ने अवस्था समेत देखिएको छ ।
यस पटकको निर्वाचनमा प्रायः सबै दलले २०७४ मा आफूहरुले जितेका पालिकाहरु गुमाएका छन् भने नयाँ पालिकाहरुमा जित हाँसिल गरेका हुनाले जनताले पुरानो नेतृत्वलाई धेरै पालिकाहरु अस्वीकार गरेर नयाँ नेतृत्वलाई जिताईदिएका छन् । त्यही कारणले गर्दा भन्न सकिन्छ जनता अझैपनि सन्तुष्ट रहेको छैनन् भनेर त्यसको प्रत्यक्ष प्रमाण हो काठमाडौमा स्वतन्त्र उम्मेदवारले विजय हाँसिल गर्नु ।
नेकपा एमालेले जित्दै आएको काठमाडौ महानगरपालिका मात्र एमालेले गुमाएन ६ वटा महानगर मध्येको कुनै महानगरमा समेत उसले जित हाँसिल गर्न सकेन तर ६ महानगरमध्ये काठमाडौ, ललितपुर, विराटनगर, पोखरा गरी चार महानगरमा उपमेयरमा जित हाँसिल गरेको हुनाले एमालेलाई सन्तोष गर्ने केही ठाउँ बाँकी रहेको छ । लोकप्रिय मतमा नेकपा एमाले नेपाली कांग्रेस भन्दा निकै अघि रहेको भएपनि उसले कुनै पनि महानगरमा मेयर पदमा विजय हाँसिल गर्न नकसेपनि गठबन्धनकारी पाँच दलको षड्यन्त्रलाई चिरेर अघि बढ्दै अब हुने प्रदेशसभा र संघीय संसदको निर्वाचनमा जानुको कुनै विकल्प देखिँदैन ।
पार्टीभित्रको द्वन्द्व र घातप्रति एमाले सजग रहनुपर्ने टड्कारो आवश्यकता देखिएको छ । पाँच दलीय घेराबन्दीलाई चिरेर एमालेले अहिले ल्याएको मतलाई सामान्य मान्न सकिने अवस्था छैन । उसले सोँचेनुसार परिणाम ल्याउन नसकेपनि लोकप्रिय मतमा भने एमाले निकै अघि रहेको छ ।
अन्तिम निर्वाचन परिणाम अनुसार कांग्रेसले ३२९, एमालेले २०५, माओवादी केन्द्रले १२१ जनता समाजवादी ३०, नेकपा एकीकृत समाजवादीले २०, लोसपा १६, राप्रपा ४, जनमोर्चा ४, नागरिक उन्मुक्ति ४, जनमत २, विवेकशिल १, नेमकिपा १, जनप्रगतिशिल १, तराई मधेश १ र स्वतन्त्र १३ रहेको छ ।





































