तिलोत्तमा नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमालेका उम्मेदवार बिजयी
वि.सं.२०७९ जेठ १३ शुक्रवार ०७:२६
shares

बुटवल ।रूपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाँण विजयी भएका छन् । उनले नेकपा एमालेका उमेदवार मोहन चापागाईंलाई ७६५ मतान्तर सहित पराजित गरेका हुन् । खाँण गृहमन्त्री बालकृष्ण खाँणका सहोदर भाइ हुन् ।
तिलोत्तमामा खसेको ६४ हजार ७२० मत मध्ये कांग्रेसका खाँणले २४ हजार ३९६ मत प्राप्त गरे । एमालेका चापागाईंले २३ हजार ६३१ मत ल्याएका छन् ।
उपप्रमुखमा भने एमालेकी जागेश्वरी चौधरी भारी मतान्तर सहित विजयी भएकी छन् । चौधरीले २३ हजार ८६ मत ल्याएकी छन् । उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका हेमन्त पाण्डेले ११ हजार ५४६ मत ल्याएका छन् ।
तिलोत्तमा एमाले नेता घनश्याम भुसालको गृह नगर हो भने एमाले उपाध्यक्ष बिष्णु पौडेलको निर्वाचन क्षेत्र पनि पर्छ । गृहमन्त्री खाँणको गृहनगर र जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले मतदान गरेको क्षेत्र समेत हो । तिलोत्तमामा ०७४ सालमा एमालेले प्रमुख र उपप्रमुख जितेको थियो ।
१७ वडा रहेको तिलोत्तमा नगरपालिकामा वडा नम्बर २, ३, ५, ६, ९, १३, १४, १६ र १७ मा नेपाली कांग्रेस विजयी भएकाे छ । १, ४, ७, १०, ११, १२ र १५ मा नेकपा एमाले निर्वाचित भएको छ । तिलोत्तमामा कांग्रेस र माओवादीको तालमेल थियो ।
मतपरिणाम सार्वजनिक लगत्तै पत्रकारहरु सँग उनले आफ्ना एजेण्डालाइ मतदाताले सदर गरेको भन्दै अब सबैलाई मिलाएर काम गर्ने बताए । “तिलोत्तमालाई देशकै उत्कृष्ट, भ्रष्टचारमुक्त र सुशासनयुक्त बनाउने मेरो प्रतिबद्धता छ । र, यो पूरा गर्छु । मलाई आफ्नो मत दिएर जिताउनु हुने सबैप्रति कृतज्ञ छु,” उनले भने ।
शासकको रुपमा नगरपालिकामा नबस्ने भन्दै उनले जनताकै सेवामा केन्द्रित रहने र बाँकी जीवन पनि नगरबासीकै सेवा गरेर बिताउने बताए । वि.सं. २०२२ साल माघ १७ गते रुपन्देहीको मणिग्राममा जन्मिएका रामकृष्ण खाँण नेपाली कांग्रेस रुपन्देहीका हालका सभापति समेत हुन् ।





































